दुर्घटना बढेपछि काठमाडौं-हेटौंडा रुटका सवारीलाई नयाँ नियम,  बेलुका ८ बजे फर्पिङ कट्नुपर्ने

बिजमाण्डू
२०८३ कात्तिक २७ गते २०:५३ | Nov 13, 2026
दुर्घटना बढेपछि काठमाडौं-हेटौंडा रुटका सवारीलाई नयाँ नियम,  बेलुका ८ बजे फर्पिङ कट्नुपर्ने
फाइल फोटो

काठमाडौं। काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौंडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेको छ।

GBIME
Tata

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार बल्खु, दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसकेको हुनुपर्ने छ।

उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधन बिहान ५ बजेपछि मात्र बल्खुबाट छुट्न पाउनेछन्। यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ।

जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले काठमाडौं जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी युनिटले कडाइका साथ सवारीसाधनको अनिवार्य रूपमा जाँच गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए।

काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा दुर्घटना हुँदा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा छ जना घाइते भएका थिए। रासस