क्यानलाई पत्र पठाएपछि कार्यदललाई राखेपको निर्देशन : परिषद्को लेटरहेड प्रयोग नगर्नू

बिजमाण्डू
२०८२ असार २५ गते ०७:१२ | Jul 9, 2025
क्यानलाई पत्र पठाएपछि कार्यदललाई राखेपको निर्देशन : परिषद्को लेटरहेड प्रयोग नगर्नू

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले बनाएको नेपाल प्रिमियर लिग (एनपीएल) छानबिन कार्यदललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो लेटरहेड प्रयोग नगर्न निर्देशन दिएको छ। नेपाल क्रिकेट संघ (क्यान)लाई कार्यदलले एनपीएलको पहिलो संस्करणको उजुरीहरूमाथि छानबिन नसकिइ दोस्रो संस्करणको तयारी नगर्न भन्दै पत्र पठाएपछि क्रिकेट क्षेत्रमा तरंग आएको थियो।

Tata
GBIME

राखेप बोर्ड सदस्य रञ्जना प्रधान संयोजक रहेको कार्यदलले राखेपको लेटरहेडमा क्यानलाई पत्र पठाएको थियो। राखेप सदस्य सचिव टंकलाल घिसिङले यसबारे आफूले निर्णय नगरेको र मिडियाबाटै यसको जानकारी पाएको बताएका थिए।

त्यस्तै, क्यानका प्रवक्ता छुम्बी छामाले कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै क्यानलाई बदनाम गर्न लागिएको दाबी गरे। यता कार्यदलले भने पहिलो संस्करणसँगै दोस्रो संस्करण पनि जोडिएर आउने बताउँदै यो क्षेत्राधिकार भित्र पर्ने र आफूहरूले क्रिकेट रोक्न नखोजेको भन्दै उजुरीउपर अध्ययनमा जोड दिएको दाबी गरे।

सम्बन्धित समाचार: के एनपीएल-२ रोकिन्छ? कार्यदल भन्छ ‘रोक्नै खोजेको होइन, हिसाब प्रष्ट मागेको हो’

यता राखेपले भने कार्यदललाई आफ्ने लेटरहेड प्रयोग नगर्न निर्देशन दिएको छ।

‘नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करण सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लेटर प्याडमा नेपाल क्रिकेट संघलाई पत्र पठाएको भन्ने विषयमा राखेपबाट नभई कार्यदलबाट लेटरहेड प्रयोग भएको जनाएको छ,’ राखेपको प्रचारप्रसार शाखाको विज्ञप्तिमा भनिएको छ, ‘कार्यदललाई आफ्नो टीओआर भित्र रही काम गर्न र परिषद्को लेटरहेड प्रयोग नगर्न तथा परिषद् प्रति प्रश्न उठ्ने कुनै काम नगर्न पनि निर्देशन गरेको छ।’

एनपीएलका दौरान टेन्डर प्रक्रिया, भुक्तानी, ब्रोडकास्टिङ अधिकार र हिसाबकिताबलाई लिएर क्यानविरुद्ध परेका उजुरी छन्। कार्यदलले यसैको अध्ययन गरिरहेको छ।

क्यानले आफूले गत मंसिरमा आयोजना गरेको उक्त प्रतियोगिताको हिसाब अझै सार्वजनिक गरेको छैन। यसले क्यानको बोर्डमा पनि विवाद चर्किएको छ।

अघिल्लो महिना उपाध्यक्षसहित ८ जना बोर्ड सदस्यले अध्यक्षलाई पत्र लेख्दै ‘क्यान एकलौटी रुपमा संचालन भएको’ आरोप लगाउँदै एनपीएलको हिसाब सार्वजनिक गर्न माग गरेका थिए।