निजामती विधेयक होल्ड गरिएकामा एमालेभित्रै असन्तुष्टि, ‘देउसी भैलो खेल्नेको कुरा नसुनौं’

बिजमाण्डू
२०८२ असार ११ गते १४:०७ | Jun 25, 2025
निजामती विधेयक होल्ड गरिएकामा एमालेभित्रै असन्तुष्टि, ‘देउसी भैलो खेल्नेको कुरा नसुनौं’
राज्य व्यवस्था समितिको बैठक

काठमाडौं। सरकारले संघीय निजामती विधेयक होल्ड गराएकामा सत्तारुढ नेकपा एमालेभित्रै असन्तुष्टि देखिएको छ।

Tata
GBIME

एमालेका सांसदहरुले आफ्नो असन्तुष्टि बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पोखेका छन्।

गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई सहभागी बैठकमा एमाले सांसद बासुदेव घिमिरेले समितिबाट पारित विधेयक माथि गएर किन अड्किन्छन्? भनी प्रश्न गरे।

एमालेका अर्का सांसद कृष्णगोपाल श्रेष्ठ र राजेन्द्र राईले समितिले विधेयकमा गरेको दुई वर्षको कुलिङ पिरियड हटाउन मुख्य सचिवको नेतृत्वमा सचिवहरुले नारा जुलुस गरेकामा आपत्ति जनाए।

राईले समितिले गरे व्यवस्था अनुसार नै विधेयक सदनबाट पारित हुनुपर्ने बताए। ‘सचिवहरु डेलिगेसनमा जाने कुरालाई अन्त गर्नुपर्छ। यो समिति सार्वभौम हो। नारा जुलुसको कुरातिर नलागौं,’ उनले भने।

अर्का सांसद श्रेष्ठले पनि सचिवहरुले देउसी भैलो खेल्न बन्द गर्नुपर्ने बताए। ‘आइन्दा देउसी भैलो खेल्ने काम नहोस्,’ उनले भने।

बैठकमा माओवादी केन्द्रकी सांसद दर्गा राईले निजामती विधेयक प्रतिनिधि सभा र अख्तियार विधेयक समितिमा होल्ड गरिएको विषयमा प्रधानमन्त्रीलाई बोलाएर जवाफ माग्नुपर्ने बताइन्।

‘अख्तियार विधेयक कहाँ छ तुरुन्त ल्याउनु पर्‍यो। एकातिर भ्रष्टाचार रोक्ने भन्ने अर्कातिर विधेयक रोक्ने? प्रधानमन्त्रीलाई बोलाएर सोध्नुपर्छ,’ उनले भनिन्।