इजरायल-इरानबीच युद्ध थप चर्कँदै, नेपाल लगायत आयातमा आधारित देशलाई कस्तो प्रभाव पर्छ?

बिजमाण्डू
२०८२ असार ५ गते ०६:०६ | Jun 19, 2025
इजरायल-इरानबीच युद्ध थप चर्कँदै, नेपाल लगायत आयातमा आधारित देशलाई कस्तो प्रभाव पर्छ?
इजरायली आक्रमणपछि तेहरानको शाहरान तेल डिपोमा लागेको आगो। तस्बिर : एएफपी।

इजरायल र इरानबीचको युद्ध सातौं दिनसम्म आइपुग्दा तनाव अझै चर्कँदै गएको छ। यस क्षेत्रको तेल तथा ग्यास उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेको कारण यो युद्ध विश्वव्यापी अर्थतन्त्रका लागि खतराको संकेत बन्न थालेको छ।

Tata
GBIME

यो तनावपूर्ण स्थितिमा तेलको मूल्य आकस्मिक रूपमा बढेको छ भने वित्तीय बजार र हवाई क्षेत्र पनि प्रभावित भएको छ। यो तनाव पूर्ण युद्धमा परिणत भएमा अवस्था अझ भयावह बन्न सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्।

तेलको मूल्यमा के परिवर्तन आयो?

तेल बजारका दुई प्रमुख बेन्चमार्कहरू ब्रेन्ट नर्थ सी क्रुड र वेस्ट टेक्सस इन्टरमेडियट बुधबार ०.५ प्रतिशतभन्दा बढीले उकालो लागे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग ‘निर्विरोध आत्मसमर्पण’को माग गरेपछि मूल्य उकालो लागेको हो।

ब्रेन्टको मूल्य प्रति ब्यारेल ७६.५५ अमेरिकी डलर र वेस्ट टेक्सस इन्टरमेडियटको मूल्य ७४.९३ डलर पुगेको छ।

इजरायलले शुक्रबारदेखि इरानका विभिन्न तेल तथा ग्यास संरचनाहरूमा हवाई आक्रमण गरिरहेको छ। यसमा साउथ पार्स ग्यास फिल्ड, फजर जम ग्यास प्लान्ट, शाहरान तेल भण्डार र शाहर रे तेल प्रशोधन केन्द्र समावेश छन्।

यद्यपि, हालसम्म विश्व उर्जा आपूर्तिमा ठूलो प्रभाव परेको छैन। तर, यस संघर्षमा अमेरिका पनि प्रत्यक्ष संलग्न हुन सक्ने सम्भावनाले बजारलाई अस्थिर बनाइरहेको छ।

इजरायलको सैन्य कारबाहीमा अमेरिकाले पनि आक्रमण गर्न सक्ने चर्चा चलिरहेको बेला ट्रम्पले मंगलबार इरानविरुद्ध कडा चेतावनी दिएका थिए।

इरानसँग विश्वकै तेस्रो ठूलो कच्चा तेल भण्डार र दोस्रो ठूलो प्राकृतिक ग्यासको भण्डार छ। तर, अमेरिकी नेतृत्वमा लगाइएको प्रतिबन्धले उसको उर्जा निर्यात क्षमतामा ठूलो बाधा पुर्‍याएको छ।

अमेरिकी उर्जा जानकारी प्रशासन (ईआइए)का अनुसार सन् २०२३ मा इरानले दैनिक झण्डै ३.९९ मिलियन ब्यारेल कच्चा तेल उत्पादन गरेको थियो। उक्त उत्पादन विश्वको कुल आपूर्तिको झण्डै ४ प्रतिशत हो।

इरानको तेल निर्यात मुख्यतया खर्ग द्वीपबाट हुने गर्दछ। यो टर्मिनल हालसम्म इजरायली गोलाबारीबाट जोगिएको छ। तर, खतरा भने कायमै छ।

इजरायलले यो स्थानलाई पनि निशाना बनाएको खण्डमा भने इरानले प्रतिकारमा ठूलो क्षति पुर्‍याउने प्रयास गर्ने संकेत देखिएको छ।

इरानको सामरिक महत्त्व बोकेको ‘स्ट्रेट अफ होर्मुज’ पनि खतामा परेको छ। यो साघुँरो जलमार्ग मध्यपूर्व र विश्व बजारका लागि तेल ढुवानीको महत्त्वपूर्ण नाका हो।

इरानले यो मार्ग बन्द गर्ने धम्की दिएका खबरहरू अघिल्लो साताबाटै सार्वजनिक हुँदै आएका छन्। दैनिक करिब २ करोड १० लाख ब्यारेल तेल यही मार्गबाट जाने गर्दछ।

यो जलमार्गको सबैभन्दा साँघुरो भाग केवल ३३ किलोमिटर चौडाइको छ भने जलयात्राका मार्गहरू अझ साँघुरा छन्, जसले त्यहाँ आक्रमणको सम्भावना बढाउँछ। इरानी समाचार संस्था आइआरआइएनएनले प्रमुख सांसद इस्माइल कोसारीलाई उद्धृत गर्दै इरानले होर्मुजको मार्ग बन्द गर्ने विषयमा विचार गरिरहेको जनाएको छ।

गोल्डम्यान स्याक्सको विश्लेषण अनुसार यदि यो मार्ग पूर्णरूपमा बन्द भए तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि जान सक्छ। यद्यपि, सन् १९८०-८८ को इरान–इराक युद्धको समयमा पनि यो गल्छी पूर्णरूपमा बन्द गरिएको थिएन।

वासिङ्टन डीसीस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ विश्लेषक क्लेटन सिग्ले इजरायलले इरानको तेल निर्यात संरचना नष्ट गर्ने योजनामा अघि बढेको बताउँछन्

उनी भन्छन्, ‘इजरायललाई लागिरहेको छ कि एउटा शत्रुतापूर्ण शासन अन्त्य गर्न प्रयास गर्नु तेलको मूल्य बढ्ने जोखिमभन्दा पनि आवश्यक छ।’

विल्सन सेन्टरसँग आवद्ध उर्जा तथा भू-राजनीतिक विश्लेषक थोमस ओ’डोनेलका अनुसार यदि इजरायलको हमला इरानको आणविक कार्यक्रममा मात्र केन्द्रित रहे ओपेकका सदस्यहरूले इरानको तेल आपूर्तिको अभाव पूर्ति गर्न सक्छन्।

उनले भने, ‘यदि ओपेक र ओपेक प्लस देशहरूले समयमै प्रतिक्रिया दिए र इरानको निर्यात पूर्ति गरे भने तेलको बजारमा अभाव हुनु पर्ने कुनै कारण छैन।’

तर, यदि इजरायलको योजना शासन परिवर्तनतर्फ मोडियो भने स्थिति भयावह बन्न सक्छ। यस अवस्थामा खर्ग द्वीपमा आक्रमण हुन सक्ने सम्भावना बढ्छ। इरानले त्यसको जवाफमा विश्व बजारलाई अधिकतम क्षति पुर्‍याउने प्रयास गर्न सक्छ।

ओ’डोनेल भन्छन्, ‘इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्छ। अर्को विकल्प भनेको साउदी अरेबियाको प्रशोधन क्षमतालाई लक्षित गर्नु हो, जसले साउदीको तेल उत्पादन र निर्यातमा ठूलो धक्का पुर्‍याउनेछ।’

Photo: AP

विश्वव्यापी मुद्रास्फीतिमा परेको असर

तेलको मूल्य बढ्दा उत्पादन खर्च पनि बढ्छ। यसको प्रत्यक्ष असर खाना, लुगा र रसायन जस्ता दैनिक उपभोग्य वस्तुहरूमा पर्न जान्छ। जसका कारण नेपाल जस्ता तेल आयातकर्ता देशहरूमा मुद्रास्फीति बढ्न सक्छ र आर्थिक वृद्धि दर सुस्ताउन सक्छ। मुलुकभित्र पेट्रोलियम पदार्थ झण्डै तीन खर्ब बराबरको खपत हुने गरेको छ।

चालु आर्थिक वर्षमा नेपालको आयात १३ प्रतिशतले उकालो लागेको छ। यो आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात भएको छ। चालु आवको सुरुवाती महिनामा मासिक १ खर्ब ३० अर्ब हाराहारीको आयात भएकामा पछिल्लो केही महिना आयात १ खर्ब ६० अर्ब माथि पुगेको छ।

केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने योजना बनाइरहेको अवस्थामा भएको यो परिवर्तनले उनीहरूको नीति निर्माणमा समेत अवरोध पुर्‍याउन सक्छ। जी७ राष्ट्रका केन्द्रीय बैंकहरू ब्याजदर घटाउने चक्रमा छन्। तर, यसबीचमा ऊर्जा मूल्यमा आएको झट्काले उनीहरूलाई सचेत बनाएको छ।

बैंक अफ इङल्यान्डले बेलायतको आधार ब्याजदर घटाएर ४.२५ प्रतिशतमा ल्याएको छ भने अमेरिकाले ट्रम्पद्वारा पुनः लागू गरिएका ट्यारिफहरूको कारण ब्याजदर घटाउने निर्णय अझै गरेको छैन।

सेयर बजारको अवस्था

अमेरिकी सेयर बजार मंगलबार ओरालो लाग्दै बन्द भयो। इजरायल-इरानबीच तनावपूर्ण स्थिति जारी रहँदा अमेरिकी सेनाले थप लडाकु विमानहरू मध्यपूर्व पठाउने निर्णय गरेपछि बजारमा अस्थिरता झनै गहिरिएको छ।

ऊर्जा बाहेक सबै प्रमुख एस एन्ड पी ५०० सूचकांक घटेको छ। ऊर्जा क्षेत्रमा भने तेलको मूल्यमा तीव्र वृद्धि देखिँदा लगानीकर्ताहरूले केही राहत पाएका छन्।

एस एन्ड पी ५०० सूचकांक ५१.०६ अंकले घटेर ५ हजार ९८२.०५ मा पुगेको छ। नासड्याक कम्पोजिट सूचकांक १८०.१२ अंकले घटेर १९ हजार ५२१.०९ मा झरेको छ। डो जोन्स इन्डस्ट्रियल एभरेज सूचकांक ३०५.२० अंकले घटेर ४२ हजार २०९.८९ मा बन्द भएको छ।

मंगलबार सार्वजनिक भएको तथ्यांकले मे महिनामा अमेरिकी खुद्रा बिक्री अपेक्षाभन्दा बढी घटेको देखाएको छ। यसैबीच, उद्योग उत्पादनमा वृद्धि भने निकै न्यून मात्र देखिएको छ।

यता, भारतको सेयर बजार भने बुधबार सकारात्मक रह्यो। सुरुवातमा गिरावट आएपनि सेनसेक्स र निफ्टी ५० सूचकांकहरू पुन: उकालो लागेका छन्। मध्यपूर्वको तनाव र उच्च तेल मूल्यका बाबजुद वित्तीय र अटो सेयरहरूले बजार बजारलाई हरियो बनाए।

हवाई यात्रामा कस्तो पर्‍यो असर?

मध्यपूर्वका विभिन्न देशहरूमा हवाई यात्रा स्थगित गरिएको छ भने केही देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

तस्बिर : एएफपी।

इमिरेट्सले इराक, जोर्डन, लेबनान र इरानका लागि उडानहरू ३० जुनसम्म रोकिएको जनाएको छ। उसका लेबनानतर्फका उडानहरू आइतबारसम्म लागि मात्र स्थगित छन्।

इतिहाद एयरवेजले अबुधाबी-तेलअवीवबीचका सबै उडानहरू आइतबारसम्मका लागि रद्द गरेको छ। उसले अन्य उडानहरू पनि फेरबदल गरेको छ।

कतार एयरवेजले पनि इरान, इराक र सिरियातर्फका उडानहरू अस्थायी रूपमा रोकिएको जनाएको छ। इरानी सरकारी समाचार संस्था आइआरएनएका अनुसार इरानले अनिश्चितकालका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। सबै उडानहरू रोकिएको बताइएको छ। पूर्वी इराक विश्वकै व्यस्त हवाई मार्गहरूमध्ये पर्छ, जहाँबाट एशिया र युरोपका कैयौं उडानहरू हुन्छन्।

जोर्डनको नागरिक उड्डयन निकायले पनि सम्भावित जोखिमका कारण अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेको जनाएको छ।

सुनचाँदी बजारमा परेको प्रभाव

बुधबार सुनको मूल्य थोरै घटेको छ। लगानीकर्ताहरूले ठूलो निर्णय गर्न अझै हतार नगरेका कारण यस्तो देखिएको हो।

लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को नीतिगत निर्णय कुरिरहेका छन्। त्यस्तै, इजरायल र इरानबीच जारी चर्को संघर्षप्रति पनि बजारको ध्यान केन्द्रित भएको छ।

नेपाली समयअनुसार बुधबार साँझसम्म सुनको मूल्य ०.१२ प्रतिशत घटेर प्रति औंस ३ हजार ३८५.३८ अमेरिकी डलरमा कारोबार भइरहेको थियो

सुनको बजार अहिले ‘वेट एन्ड वाच’को अवस्थामा छ। फेडको दुई दिने बैठक बुधबार सकिँदैछ। अधिकांश विश्लेषकहरू फेडले ब्याजदर यथावत राख्ने अपेक्षा गरिरहेका छन्। तर लगानीकर्ताहरूले भावी नीतिहरूमा कटौतीको संकेत आउँछ कि भन्ने चासोका साथ बैठकपछि अध्यक्ष जेरोम पावेलको टिप्पणी कुरिरहेका छन्।

सुनको दीर्घकालीन मूल्य प्रवृत्तिबारे क्यापिटल इकोनोमिक्सका जलवायु तथा वस्तु विश्लेषक हमाद हुसेनले आगामी ६ महिनासम्म अहिलेको स्तरभन्दा केही तल जान सक्ने सम्भावना रहेको बताए

‘तर, केन्द्रीय बैंकहरू र चिनियाँ लगानीकर्ताहरूको बलियो मागले मूल्यलाई ३ हजार डलर प्रति औंसभन्दा तल जान दिनेछैन,’ उनले भने।

सुनसँगै अरू धातुहरूको मूल्यको प्याटर्न पनि उस्तै देखिएको छ। चाँदीको मूल्यमा झिनो गिरावट आउँदा प्रति औंस ३७.१४ डलरमा छ। प्लाटिनमको मूल्य १.८ प्रतिशतले उकालो लागेर १ हजार २८५.३ डलर पुगेको छ।

अमेरिकी मौद्रिक नीतिमा स्पष्टता आउँदै गर्दा मध्यपूर्वको स्थिति अझै तनावग्रस्त हुँदै गएको छ। यस्तोमा सुन र अन्य बहुमूल्य धातुहरूको मूल्यमा अस्थिरता देखिने सम्भावना कायमै छ। अबको दिशा भने फेडको निर्णय र इजरायल-इरान तनाव कति बढ्छ भन्ने कुराले निर्धारण गर्नेछ।