काठमाडौं महानगरको ठेक्कामा अख्तियारले देख्यो त्रुटि, प्रदीप परियारसहित सात जनाविरुद्ध मुद्दा

बिजमाण्डू
२०८२ जेठ २८ गते १६:२६ | Jun 11, 2025
काठमाडौं महानगरको ठेक्कामा अख्तियारले देख्यो त्रुटि, प्रदीप परियारसहित सात जनाविरुद्ध मुद्दा


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Tata
GBIME

अख्तियारले जनही ४ करोड ३१लाख ७२ हजार रुपैयाँ बिगो कायम गरी परियार र महानगरका ६ कर्मचारीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले मुद्दा दायर गरेसँगै परियारसहितका सातै कर्मचारी निलम्बनमा परेका छन्।

परियार हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागको महानिर्देशक छन्। उनी २०८० माघ पहिलो सातादेखि २०८१ भदौ अन्तिमसम्म महानगरको प्रमुख प्रशासकीय अधिकृत थिए।

अख्तियारले मुद्दा दायर गरेका अरु कर्मचारीमा काठमाडौं महानगरपालिकाका निर्देशक रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी छन्।

सामाखुशी करिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको खण्डको ठेक्कामा सबैभन्दा कम रकम कबोल गर्ने समानान्तर निर्माण सेवालाई अयोग्य ठहर गरेर बढी रकम कबोल गर्ने कल्पवृक्ष कोहिनुर जेभीलाई काम दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

समानान्तर निर्माण सेवाले १८ करोड ९ लाख २२ कजार रुपैयाँका काम गर्न कबोल गरेकामा महानगरले २२ करोड ४० लाख ९४ हजार रुपैयाँ प्रस्ताव गरेको कल्पवृक्ष कोहिनुर जेभीसँग ठेक्का सम्झौता गरेको थियो।