अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेलको निर्देशन

बिजमाण्डू
२०८२ जेठ २८ गते १६:१५ | Jun 11, 2025
अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेलको निर्देशन


काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।

Tata
GBIME

अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरूलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।

अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं।’

अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरू पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिए। उनले व्यावहारिक पक्षलाई हेरेर परिणाममुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिए।

आगामी बजेट कार्यान्वयनमा जाँदा कानुनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिए। अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न पनि निर्देशन दिए।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत लगायर राजस्व संकलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए।