
काठमाडौं। रेमिटेन्समा वृद्धिका कारण बैंकिङ प्रणालीमा तरलता थपिन पुगेको छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा बैंकिङ प्रणालीमा ७ खर्ब रुपैयाँ तरलता थुप्रिएको छ।
चालु आर्थिक वर्ष वैशाखमा मात्रै १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। एक महिनामा भित्रिएको यो अहिलेसम्मकै धेरै रेमिटेन्स हो। यसअघि गत फागुनमा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो आर्थिक वर्ष १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।
रेमिटेन्स वृद्धिका कारण बैंकिङ प्रणालीमा तरलता थपिएको बैंकरहरुले बताएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले ३ प्रतिशत ब्याजदरमा अहिले ४ खर्बको हाराहारी तरलता राष्ट्र बैंकमा राखेका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मौद्रिक व्यवस्थापन विभाग प्रमुख दयाराम शर्मा पछिल्लो समय बजारबाट उठाउने तरलताको भोलुम बढ्न थालेको बताउँछन्।
‘रेमिटेन्स बढिरहेको छ। रेमिटेन्स वृद्धि हुँदा त्यसले बजारमा तरलता बढाउन मद्त पुग्ने नै भयो,’ उनले भने, ‘बजारमा तरलता बढी हुँदा त्यसको व्यवस्थापनका लागि हामीले खिच्ने तरलताको भोलुम वृद्धि भइरहेको छ।’
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २ खर्ब ५५ अर्ब र स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरणमार्फत १ खर्ब ३८ अर्ब रुपैयाँ खिचेको छ।
राष्ट्र बैंकले आइतबार मात्रै ४२ दिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता पार्क गर्ने सुविधा दिएको थियो।
निक्षेपको तुलनामा कर्जाको वृद्धिदर कम हुनुका साथै रेमिटेन्स बढेकाले बजारमा तरलता बढाएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन्।
‘वार्षिक विन्दुगत आधारमा निक्षेप ११.४ प्रतिशतले बढेको बेलामा कर्जा ८.४ प्रतिशतले वृद्धि हुनुले निक्षेप परिचालनको तुलनामा कर्जा प्रवाह भएको छैन। यो भनेको तरलता थुप्रिएर बसेको भन्ने हो,’ उनले भने।
चालु आर्थिक वर्ष साउनमा १ खर्ब ३६ अर्ब, भदौमा १ खर्ब २६ अर्ब, असोजमा १ खर्ब ४४ अर्ब, कात्तिकमा १ खर्ब १४ अर्ब, मंसिरमा १ खर्ब १८ अर्ब, पुसमा १ अर्ब २२ अर्ब, माघमा १ खर्ब ३७ अर्ब, फागुनमा १ खर्ब ५१ अर्ब र चैतमा १ खर्ब ३९ अर्ब रेमिटेन्स आएको छ।