प्रयोगकर्ताको चापले बिलिङ प्रणाली ओभरलोड हुँदा टेलिकमको सेवा १७ मिनेटसम्म डाउन

बिजमाण्डू
२०८२ जेठ २६ गते ११:०६ | Jun 9, 2025
प्रयोगकर्ताको चापले बिलिङ प्रणाली ओभरलोड हुँदा टेलिकमको सेवा १७ मिनेटसम्म डाउन

काठमाडौं। नेपाल टेलिकमको नेटवर्कमा प्रयोगकर्ताको चापले बिलिङ प्रणाली ओभरलोड हुँदा भ्वाइस तथा डेटा सेवा १७ मिनेटसम्म डाउन भएको छ। बिहान पौने ११ बजेदेखि काठमाडौंसहितका क्षेत्रहरुमा टेलिकमको फोन नलाग्नेदेखि डेटा नचल्ने समस्या देखिएको हो।

Tata
GBIME

यसअघि पनि टेलिकमको थोत्रो बिलिङ प्रणाली नफेर्दा पटकपटक टेलिकमको सेवामा समस्या देखिंदै आएको छ।

केही समय डाउन भएको सेवा फेरि संचालनमा आएको छ। टेलिकमको सेवा के कारणले अवरुद्ध भयो भन्ने बारे अहिले अध्ययन भइरहेको छ।

टेलिकमको भ्वाइस र डेटा सेवा बिहान १०:४८ देखि ११:०५ सम्म डाउन हुन पुगेको टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले जानकारी दिए।

‘बिहान १०:४८ देखि ११:०५ सम्म नेटवर्कमा समस्या देखिएको हो। हाम्रो प्राविधिक टिमले देखिएको समस्या पहिचान गर्दै सेवा सुचारु गराइसकेको छ,’ मिश्रले भने।

सहप्रवक्ता मिश्रले के कारणले समस्या देखिएको भन्ने बारे अध्ययन भइरहेको बताएपनि नेटवर्कमा काम गरिरहेका एक अधिकृतले टेलिकमको सेवा अवरुद्ध हुनुमा बिलिङको ‘सिस्टम ओभरलोड’ देखिएपछि क्र्यास भएको जानकारी दिए।

‘बिलिङ प्रणाली पुरानो भइसकेको छ। तर, सेवाग्राहीको चाप अत्यधिक बढिसकेको छ। चापअनुसार पुरानो बिलिङ प्रणालीले थेग्न गाह्रो पर्ने गर्छ। जसका कारण नेटवर्कमा अत्यधिक चाप पर्दा हाम्रो बिलिङ प्रणालीले थेग्न सकेन। जसका कारण भ्वाइस कल, एसएमएस र डेटा सेवा ड्रप हुन पुग्यो। समस्या देखिएको २० मिनेट अगावै हामीले सर्भिस रिस्टोर गर्न सक्यौं,’ ती प्राविधिकले भने।

आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी बहालवाला प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहितका उच्चपदस्थ अधिकारीहरुलाई बिलिङ मर्मतसम्भारको ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।