
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोड्ने चेतावनी दिएका छन्।
उनले मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आइतबार जनकपुरधाममा एकसाथ ६४ सडकको शिलान्यास गर्दै सिँचाइको आशमा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भन्दै परियोजना चाँडो सम्पन्न गर्न आग्रह गरे।
‘जनताले लामो समय जमिन बाँझो राखिरहन सक्दैनन्। परियोजनामा ढिलाइ गरे ठेक्का तोडिनेछ,’ उनले भने।
ओलीले परियोजनाको काममा ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो अपराध भएको बताए। ‘भ्रष्टाचारभन्दा ठूलो अपराध परियोजमा ढिलासुस्ती हो। ढिलासुस्तीले लागत बढ्ने र लाभान्वित हुनुपर्ने समूह प्रतिफल पाउनबाट वञ्चित हुन्छ। त्यसैले विकासमा बामे सर्ने नभई रफ्तारमा काम गर्न आवश्यक छ,’ उनले भने।
राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाअन्तर्गत सिन्धुलीको सुनकोशी नदीको पानी बागमतीको सहायक मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने लक्ष्य छ।
साथै ३१.०७ मेगावाट जलविद्युुत् उत्पादन गर्ने भनिएको छ।