लेउती बाढीले कोशी राजमार्गको धनकुटा खण्डमा क्षति, सडक बगाएपछि यातायात अवरुद्ध

बिजमाण्डू
२०८२ जेठ १७ गते ०८:५६ | May 31, 2025
लेउती बाढीले कोशी राजमार्गको धनकुटा खण्डमा क्षति, सडक बगाएपछि यातायात अवरुद्ध


धनकुटा। आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान-धनकुटा सडकखण्डमा विभिन्न भागमा क्षति पुर्‍याएको छ। बाढीले सडक बगाएपछि सवारी आवागमन अवरुद्ध भएको छ।

Tata
GBIME

बाढीले साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका सई टंक थापाले बताए। यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको छ।

सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ। चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ।

छरुवा खोलाको बाढीले तमोर करिडोर पनि अवरुद्ध भएको छ। बाढीले धरानका विभिन्न भागमा पनि क्षति पुर्‍याएको छ।

माईको बाढी बस्ती पस्यो

झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन्।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।

‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,’ उनले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।’ यस वर्ष सरदरभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीमा बाढीको त्रास छ। रासस