
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविका जस्ता चुनौतीहरूको सामना साझा प्रयासले मात्र गर्न सकिने बताएका छन्।
एशियाली राष्ट्रहरूको खाद्य तथा कृषि सहकार्य (अफासी)को ७औँ साधारणसभालाई आज काठमाडौंमा सम्बोधन गर्दे मन्त्री अधिकारीले अफासीले एशियाली राष्ट्रहरूबीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य, नवीनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदानमा महत्त्वपूर्ण मञ्चको रुपमा काम गरेको उल्लेख गरे।
उनले सदस्य राष्ट्रहरूबीचको सहकार्यमार्फत कृषि रुपान्तरणका लागि नयाँ अवसरहरू सिर्जना गर्न सकिनेमा जोड दिए। कृषि अनुसन्धानलाई सुदृढ बनाउन, दिगो खेतीपातीको अभ्यासलाई प्रवर्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्न अपरिहार्य रहेको र यसका लागि अफासीले मञ्चको रुपमा काम गर्नुपर्ने उनको भनाइ थियो।
साधारणसभामा अफासीका सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी छन्। ३/३ वर्षमा यो साधारण सभाको आयोजना हुने गर्छ।
आगामी साधारणसभा इन्डोनेसियामा आयोजना गर्ने निर्णय भएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक कृष्ण तिमिल्सिनाले जानकारी दिए।
आजै काठमाडौंमा आयोजित दोस्रो आलु सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिको कुल ग्रार्हस्थ उत्पादनमा ६.३५ प्रतिशत योगदान रहेको आलु बालीको प्रवर्धनका लागि सरकारले प्राथमिकताका साथ काम गरेको बताए। सरकारले आलुको सिकाइ केन्द्र स्थापना, बीउ तथा भण्डारणमा कृषकलाई अनुदान, शीतभण्डार लगायतका पूर्वाधार निर्माण भइरहेको उनले बताए।