‘व्यापार युद्ध’ को असर : विश्वभर सन् २०२५ मा ७० लाख रोजगारी सिर्जनामा कमी आउने

बिजमाण्डू
२०८२ जेठ १६ गते ०९:५१ | May 30, 2025
‘व्यापार युद्ध’ को असर : विश्वभर सन् २०२५ मा ७० लाख रोजगारी सिर्जनामा कमी आउने


संयुक्त राष्ट्रसंघले विश्वमा विद्यमान व्यापार युद्धका कारण लाखौं मानिसले जागिर पाउने अवस्था नरहेको प्रक्षेपण गरेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्यारिफ वार’का कारण विश्वको अर्थतन्त्रनै संकटमा पर्ने र मन्दीको अवस्था आउने हुँदा रोजगारी सिर्जनाको संख्या ७० लाख घट्ने जनाइएको हो।

Tata
GBIME

राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठनले जारी गरेको रिपोर्टमा सन् २०२५ मा विश्वभर ५ करोड ३० लाख रोजगारी सिर्जना हुने उल्लेख छ। पहिला प्रक्षेपण गरिएको भन्दा यो ७० लाखले कम हो।

व्यापारमा करका कारण आएको रोकावट र विभिन्न महाद्विपमा चलिरहेको भूराजनीतिक तनावका कारण पहिला तय लक्ष्य भन्दा जागिर सिर्जना हुने देखिएको रिपोर्टमा उल्लेख छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको अध्ययनमा आधारित गरेर श्रम संगठनले आफ्नो रिपोर्ट बनाएको छ। गत अप्रिलमा अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको जीडीपी २.८ प्रतिशतमात्रै बढ्ने जनाएको थियो। पहिला विश्वको जीडीपी सन् २०२५ मा ३.२ प्रतिशतले बढ्ने अनुमान थियो। तर, अमेरिकाले आफ्ना व्यापारिक पार्टनरहरुमाथि पनि कर थुपारे पछि विश्वको जीडीपी बढ्ने प्रक्षेपण पनि घटेको हो।

विश्व श्रम संगठनले विश्वका ७१ देशको ८ करोड ४० लाख जागिर ‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अमेरिकी माग’ मा आधारित रहेको जनाएको छ। जसकारण ट्रम्पको कर नीतिले ती सबै प्रभावित हुने भएका हुन्। एसिया प्रान्त क्षेत्रमा मात्रै ५ करोड ६० लाख मानिस ट्रम्पको कर नीतिबाट प्रभावित हुने अनुमान छ। क्यानडा र मेक्सिकोमान १ करोड ३० लाख मानिस ट्रम्प ट्यारिफबाट प्रभावित हुनेछन्।

अमेरिकाको वाणिज्य अदालतले सुरुमा कर लगाउने निर्णय रोके पनि बिहीबारमात्रै फेरि कर लगाउने निर्णयलाई रोक्न नमिल्ने फैसला माथिल्लो अदालतले गरेको छ। जसकारण ट्रम्प अब आफ्नो कर नीतिमा थप सशक्त भएर अघि बढ्ने देखिन्छ। यसले विश्वभर रोजगारी सिर्जनामा असर पर्ने राष्ट्र संघीय निकायको निचोड छ।