
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र राजतन्त्र कुन उत्तम हो भन्ने विषयमा बहस हुनै नसक्ने बताएका छन्। उनले गणतन्त्र दिवसका अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा अहिलेको समयमा निरंकुश राजतन्त्रको कल्पना गर्नै नसकिने बताए।
‘हिजो जनताले सिंहदरबार र नारायणहिटी गेट बाहिरबाट हेर्थे। आज जनता त्यहाँभित्र छन्। निरंकुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने कुरामा बहस हुनै सक्दैन,’ उनले भने।
ओलीले निरंकुश राजतन्त्र र गणतन्त्रकालको विकास सूचकांकको तुलनात्मक अध्ययन गर्न नवोदित पुस्तालाई आग्रह गरे। गणतन्त्रको १७ वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार लगायत क्षेत्रमा धेरै गुणा धेरै विकास भएको बताए।
ओलीले गणतन्त्रमा कुनै कमजोरी भए त्यसलाई सच्याउन सकिने भन्दै कमजोरीलाई लिएर व्यवस्थालाई दोष दिन नमिल्ने बताए।
‘गणतन्त्र जनताको व्यवस्था हो। यसमा कमजोरी भयो भने गणतन्त्रको दोष होइन, निर्णयकर्ताको कमजोरी हुन सक्छ। निर्णयमा हुने कमजोरी सच्याउने सुविधा गणतन्त्रमा मात्रै हुन्छ,’ उनले भने, ‘राजतन्त्रमा प्रश्न गर्न पाइँदैनथ्यो। गणतन्त्र उत्तरदायी व्यवस्था हो। आलोचनाबाहिर कोही रहँदैन। आज तपाइँ सरकारको आलोचना गर्न सक्नुहुन्छ। विधिबाट सरकार परिवर्तन गर्न पाइन्छ।’
सुशासन, पारदर्शीता र उत्तरदायित्व गणतन्त्रको मेरुदण्ड भएको ओलीले बताए।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतको उपस्थितिमा भएको कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिनुका साथै सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो।