भिजिट भिसा प्रकरणमा रमेश लेखकले मागे ‘न्याय’, पूर्वमन्त्री र सचिवमाथि साँधे निशाना

बिजमाण्डू
२०८२ जेठ १४ गते १७:३३ | May 28, 2025
भिजिट भिसा प्रकरणमा रमेश लेखकले मागे ‘न्याय’, पूर्वमन्त्री र सचिवमाथि साँधे निशाना


काठमाडौं । गृह मन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। आज नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकार सम्मेलन गर्दै उनले सो प्रकरणमा आफ्नो नाम जोडिनु राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका हुन्।

Tata
GBIME

विपक्षी दलले भिजिट भिसा प्रकरणमा उनको राजीनामा माग गर्दै आएका छन्। लेखकले यस प्रकरणबारे संसदमा बोल्न समय माग गरे पनि राजीनामा माग्दै विपक्षी दलले संसद संचालन समेत हुन दिएनन्। जसकारण उनले आज पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण दिएका हुन्।

‘मेरो संलग्नता देखाएर धारणा अभिव्यक्त भएका छन् यो झुटो कुरा हो।  म माथि आक्रमण गरिएको छ। यो राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ,’ उनले आरोपलाई षड्यन्त्रमुलक भन्दै भने।

पत्रकार सम्मेलनमा उनले गृह मन्त्रालयमा कार्यरत सहसचिव तीर्थराज भट्टराईलाई आफूले कुनै पनि लाभको पदमा नल्याएको दाबी पनि गरे।

‘तीर्थराज मैले कुनै विभागबाट ल्याएको कर्मचारी होइन। उहाँ कसुर जन्य विभागमा काम गरिरहनु भएको थियो गृह मन्त्रालय अन्तर्गत नै। उहाँलाई सरुवा गरिएको हो। उहाँ म आउनु भन्दा पहिला प्रमुख जिल्ला अधिकारीका रूपमा काम गर्नु भएको थियो,’ लेखकले भने, ‘ रवि लामिछाने गृहमन्त्री हुँदा कसुर जन्य विभागको महानिर्देशक हुनुहुन्थ्यो। २०७७ सालदेखि उहाँ गृह मन्त्रालयमा काम गरिरहनु भएको थियो। मैले अचानक त्यहाँ सरुवा गरे भन्ने होइन।’

यस्तै, लेखकले यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भइरहेको भन्दै त्यहाँबाट हुने कारबाहीका लागि बाटो खुल्ला नै रहेको बताए। उनले अख्तियारको अनुसन्धान नै प्रभावित पार्ने षड्यन्त्र भइरहेको समेत बताए।

‘आयोगको सबलताको अपेक्षा गरिरहेको छु। आयोगलाई समेत प्रभावित पर्ने काम कसैबाट गर्नु हुँदैन। निष्कर्षमा पुग्न दिन पर्छ,’ उनले भने।

भिजिट भिसाबाट कमिसन लिने कर्मचारीको कामको भागिदार मन्त्री हुनुपर्ने भन्ने भनाइमा आफ्नो सहमति नभएको उनको तर्क छ। उनले विभिन्न मन्त्रालयका कमर्चारीमाथि हजारौं उजुरी परेको तथ्यांक सुनाउँदै आफ्नो वचाउसमेत गरे। उनले पूर्व मन्त्री र पूर्व सचिवहरुमाथि विभिन्न उजुरी र मुद्दा परेको प्रसंग निकाल्दै आफू माथि भने पूर्वाग्रह राखिएको बताए।‍

‘म भन्दा पहिलाका ३ गृह मन्त्रीहरुले नेतृत्व सम्हाल्दा ६ व्यक्तिमाथि अख्तियारमा मुद्दा दायर भएको छ। त्यसबेला पनि प्रश्न उठेको थियो। कतिले राजीनामा दिए दिएनन् यो यहाँहरुले नै विश्लेषण गर्नुस्।’

उनले पूर्व गृह मन्त्रीहरुको बेला पनि सयौं कर्मचारीविरुद्ध अख्तियारमा उजुरी परेको समेत बताए। तर, त्यसबेलामा कुनै मन्त्रीमाथि यस्तो व्यवहार नभएको उनको मत थियो।

अनुसन्धानले छानबिन पूरा नगर्दै मन्त्रालयको नेतृत्व गरेका माथि प्रश्न उठाइरहे शासन व्यवस्था ठिक ढंगले चल्न नसक्ने उनको तर्क छ। राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीमाथि भएको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोडिएको असन्तुष्ट पोख्दै उनले भने आफूले न्याय खोजेको बताए।

‘न्याय त मैले पनि पाउनुपर्छ होला। मेरो विरुद्ध कतै उजुरी परेको छ? न्याय पाउन नपर्ने नागरिक हो म?,’ उनले आफू अघिका ३ मन्त्रीको कार्यकालमा समेत उजुरी परेको भन्दै भने, ‘मुख्य सचिव माथि प्रश्न उठ्यो, अनि मैले प्रधानमन्त्रीले राजीना दिनुपर्छ भन्ने?’

उनले आफ्नो सचिवालयमा खटेका व्यक्तिहरुले अदालतबाट सफाइ पाइसकेको दाबी समेत गरे। लेखकले छानबिनमा आफूले सहयोग गर्ने समेत बताएका छन्।

पत्रकार सम्मेलनका क्रममा उनले अरुले गरेको अपराधको जिम्मेवारी आफूले लिन नसक्ने भन्दै आरोपलाई नियोजित र षड्यन्त्रमुलक भएको बताए। त्यसक्रममा उनले आफ्नो कार्यकालमा गृह मन्त्रालयमा गरेको सुधार र परिवर्तनबारे पनि सुनाएका थिए।