
काठमाडौं। मुठभेड निम्त्याउने आशयको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि सुरक्षा निकाय तनावमा देखिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ १५ गते गर्न लागेको प्रदर्शन रोक्ने गरी काठमाडौं नियन्त्रणमा लिन ओलीले एमाले कार्यकर्तालाई निर्देशन दिएपछि खासगरी नेपाल प्रहरी तनावमा देखिएको हो।
अराजकता निम्त्याउन प्रधानमन्त्रीले नै उक्साएपछि सुरक्षा रणनीति बनाउन जुटेको प्रहरी नै अलमलमा परेको छ। राप्रपाको प्रदर्शनलाई अराजक हुन नदिन सुरक्षा रणनीतिबारे आन्तरिक छलफल चलाइरहेको प्रहरी ओलीको अभिव्यक्तिपछि स्थिति तनावग्रस्त हुन सक्ने भयमा छ।
राप्रपाले जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्रको विरोधमा प्रदर्शन गर्दैछ। त्यो प्रदर्शनमा आफ्नो शक्ति देखाउन पूर्वपञ्चहरु न्वारनदेखिको बल निकालेर लागिरहेका छन्।
उनीहरूले काठमाडौंको कोर बस्तीमा घरदैलो गरेर आफूहरूलाई साथ दिन आग्रह गरिरहेका छन्। राप्रपाले काठमाडौं उपत्यका बाहिरबाट पनि कार्यकर्ता ल्याउँदैछ।
प्रमुख दलको काम कारबाहीबाट वाक्कदिक्क हुनेहरूको संख्या बढिरहँदा राप्रपाको गणतन्त्र विरोधी प्रदर्शनमा जनसहभागिता बाक्लै हुने अनुमान प्रहरीले गरिरहेको छ। त्यही दिन सरकारले संसद् बैठकमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ।
राजावादीले चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक भएको पृष्ठभूमिमा त्यो अवस्था आउन नदिन सतर्कता अपनाउनुपर्ने चुनौती प्रहरीसामु छ। तर, प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई आन्दोलनमा प्रोटोकल केही पनि मान्नु पर्दैन भन्दै उक्साएका कारण प्रहरीलाई सहज छैन। प्रहरी आफैं दुई पक्षबीच झडप हुन सक्ने बुझाइमा छ।
‘मुठभेड निम्त्याउने प्रधानमन्त्रीको अभिव्यक्तिले हामीलाई तनाव दियो। एउटा पक्षलाई कन्ट्रोल गर्दा हुनेमा अब दुई पक्षको झडप होला कि भन्ने चिन्ता थपिएको छ। झडप भए यसको जिम्मेवारी कसले लिने?,’ प्रहरीका एक उच्च अधिकृतले भने, ‘प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई पूरै काठमाडौं नियन्त्रणमा लिन भन्नुभएको छ। हामी सबैतिरको सडकमा परिचालन हुन सक्दैनौं। त्यसैले हामीलाई सुरक्षा रणनीति बनाउनै गाह्रो भएको छ।’
ओलीले आइतबार सार्वजनिक रुपमै राजावादीले गर्न लागेको प्रदर्शन रोक्ने गरी काठमाडौंलाई नियन्त्रणमा लिन एमालेका कार्यकर्तालाई निर्देशन दिएका थिए।
‘म साथीहरूलाई भन्न चाहन्छु, पार्टीको निर्देशन पछि आउला। १५ गतेका लागि तयारी थाल्नुस्। के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। १५ गते ११ देखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ। कसरी कुन संस्था अगाडि लाग्छ त्यसलाई छाड्दिनुस्। आन्दोलनमा प्रोटोकल स्रोटोकलको कुरा हुँदैन। सभा बैठक गर्दा पो यता उता हुन्छ। आन्दोलनमा पनि यता हुन्छ र? सबै एकैतिर,’ ओलीले वडाध्यक्षहरूको भेलामा भनेका थिए।
लोकतन्त्रमा शान्तिपूर्णरुपमा प्रदर्शन गर्ने अधिकार सबैलाई छ। राप्रपाहरूले राजसंस्था र हिन्दु राज्य चाहियो भनेर प्रदर्शन गर्न पाउँछन्। यो संविधानले नै दिएको अधिकार हो। त्यसैले त ओलीको अहिले चौतर्फी आलोचना भइरहेको छ। हुँदा-हुँदा संवैधानिक आयोगले समेत ओलीलाई जथाभाबी नबोल्न भनेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले सोमबार प्रेस विज्ञप्ति निकालेर मुठभेड निम्त्याउने र अराजकता फैलाउने ओलीको अभिव्यक्तिलाई चिन्ताजनक भनेको छ।
‘देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ छ,’ आयोगले भनेको छ, ‘शान्तिपूर्ण तवरबाट विचार राख्न संविधान र कानुनले निषेध गरेको छैन। यस परिस्थितिमा अरूको विचार र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति चिन्ताजनक छ।’
आयोगले ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन भनेको छ।
त्यसो त ओलीले चैत १५ गते तीनकुनेको प्रदर्शनअघि पनि जथाभाबी अभिव्यक्ति दिएका थिए। त्यो अभिव्यक्ति ओली र सरकारकै लागि गलपासो बन्न पुग्यो। प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रको पक्षमा भन्दा ओलीको विरोधमा नारा घन्कियो। प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे।
चैत १५ गतेको प्रदर्शनलाई ख्याल गरी सुरक्षा व्यवस्था कडा तुल्याउन र प्रदर्शन गर्न लागेको समूहलाई संयमता अपनाउन भन्नुपर्ने उनै ओलीले अहिले जाइलाग्ने अभिव्यक्ति दिएका छन्।
सुरक्षा मामिलाका जानकारहरू ओलीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले प्रहरी नै अप्ठेरोमा परेको बताउँछन्।
‘प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोल्नु भयो। यसले प्रहरीलाई स्वाभाविकरुपमा तनाव दिएको छ। प्रहरीले अब कस्तो रणनीति बनाएर काम गर्ने?,’ नेपाल प्रहरीका पूर्वडीआइजी माधव थापाले भने, ‘भीड नियन्त्रण गर्ने कुरा खेलाँचीको विषय होइन। सुरक्षा चुक हुँदा के हुन्छ भन्ने चैत १५ गते देखिइसकेको छ। अनि सरकार प्रमुखले नै जथाभाबी बोलेर वातावरण बिगार्न खोजेपछि प्रहरी एक्लैले कसरी काम गर्न सक्छ?’
ओलीको फर्मान मानेर एमालेका कार्यकर्ता सडकमा ओर्लिएको अवस्थामा प्रहरीलाई जनशक्ति व्यवस्थापन गर्नै हम्मे पर्नेछ। अनि सरकार प्रमुखको निर्देशनमा सडकमा ओर्लिएर अराजकता निम्त्याउनेविरुद्ध जाइलाग्ने नैतिक साहस पनि प्रहरीसँग हुँदैन।