
काठमाडौं। बबरमहलमा निर्माण भइरहेको नेपाल आयल निगमको नयाँ भवन करिब-करिब तयार भएको छ। २०७२ वैशाखको भूकम्पले पुरानो भवन भत्काएको थियो। उक्त संरचना फालेर निगमले नयाँ भवन निर्माणको योजना अघि बढाएको थियो।
निगमले बबरमहलमा रहेको ३ पुराना भवन भत्काएर सोही स्थानमा १० तलाको नयाँ कर्पोरेट भवन बनाएको हो। भवनको डिजाइनअनुसार भूमिगत २ तलाको पार्किङ हुने र जमिनमाथि १० तलाको भवन छ। अहिले यो बाटो हुँदै यात्रा गर्नेले सबैभन्दा अग्लो संरचनाका रुपमा निगमको नयाँ भवन देख्छन्।
आयोजना प्रमुख राम बन्जाराका अनुसार उक्त भवनको काम लगभग ९७ प्रतिशत सकिएको छ। असारदेखि निगमको व्यवस्थापन उक्त भवनबाट हुने तयारी भइरहेको छ।
‘अहिले हरेक तलामा फिनिसिङको काम चलिरहेको छ। जसमा पेन्टिङ, कार्पेटिङ, फर्निचर सेटअप, वाल प्यानलिङ, फलसिलिङ लगाउने, लाइटिङ तथा वाइरिङ लगायतका कामहरु भइरहेका छन्,’ उनले भने, ‘यस्तै धेरै वटा फ्लोरमा यसको काम सकिएका छन्। ग्राउन्ड फ्लोर लगायतका केही तलाहरूमा अहिले धमाधम काम भइरहेको छ।’

फर्निचर सबै ल्याएर स्टोरमा राखिएका छन्। जुन-जुन फ्लोर तयार छन् त्यसमा सेटअप गरिसकिएको छ। जुन-जुनमा मिल्दैन त्यसमा बिस्तारै सेटअप गर्दै जाने बन्जराले बताए। जमिनमाथिको १० तलामध्ये ४ तलाको आधुनिक भवनका रुपमा तयार पारिएको छ भने टावर भएको स्थानमा ६ वटा तला छ।
उनका अनुसार ग्राउन्डफ्लोर र पहिलो तलामा सबैभन्दा धेरै काम बाँकी छ। यस्तै २ वटा लिफ्ट हाल्ने काम पनि भइरहेको उनले बताए। यो फायर फाइटिङ सिस्टम पनि राखिएको छ। यसको पनि काम ९५ प्रतिशत सकिएको छ। हाइराइज बिल्डिङ भएकाले पनि यसमा नेपालको बिल्डिङ कोड अनुसार फायर हाइजिनको सिस्टम अनिवार्य गरिएको छ।

अर्को भनेको निगमका कर्मचारीहरूका बच्चालाई डे केयरका लागि पनि एउटा छुट्टै भवन तयार पारिएको छ। त्यसको काम पनि लगभग सकिएको बन्जराले बताए।
‘हाम्रोमा कमर्चारीको बच्चाहरूलाई डे केयरको सुविधा दिने प्रावधान रहेछ। त्यहीअनुसार भवनको डिजाइन गर्दा नै त्यही शीर्षकमा चाइल्ड डे केयर भवन पनि निर्माण गरिएको छ,’ उनले भने, ‘यसमा सेक्युरिटी गार्डहरू पनि बस्ने ठाउँ हुन्छ।’
यो भवनको निर्माण लागत भ्याट बिना ८१ करोड रुपैयाँ हो। भ्याट १३ प्रतिशत थप गर्दा १ अर्ब रुपैयाँ बराबरको लागत यसमा लागेको छ। सुरुमा यसको ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नेगरी २०२१ डिसेम्बर ५ मा वर्क अर्डर दिइएको थियो। उक्त समयसीमा २५ नोभेम्बर २०२४ सम्म थियो।

तर, उक्त समयमा काम नसकिएपछि पहिलो पटक १० महिनाको समय थप गरिएको थियो। उक्त थपिएको समय पनि चैत मसान्तसम्म समाप्त भइसकेको छ। त्यसपछि अलिकति समय थप गर्न आग्रह गरेका थिए। त्यही अनुसार यो जेठ अन्तिमसम्म काम सम्पन्न हुनेछ।




