
काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्यमा गिरावट आएको छ। शुक्रवार सुन तोलामा १ हजार १०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रति तोला एक लाख ९० हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुन तोलामा एक हजार ७०० रुपैयाँ बढेर प्रति तोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला एक लाख ८९ हजार ८०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। शुक्रवार चाँदीको मूल्य प्रति तोला २ हजार ५ रुपैयाँ छ। बिहीबार चाँदी प्रति तोला २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य ओरालो लागेको छ। शुक्रबार सुनको मूल्य प्रतिऔंस ३३१४.११ डलर छ। चाँदी भने प्रतिऔंस ३३.१८ डलरमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रति औंस ३३३८.११ डलर र चाँदी प्रति औंस ३३.६७ डलर थियो।