कामपाको सीप मेला बुधबारदेखि, १० क्षेत्रका ३४ विधामा हुने तालिमलाई आवेदन खुला

बिजमाण्डू
२०८२ जेठ ३ गते १०:३३ | May 17, 2025
कामपाको सीप मेला बुधबारदेखि, १० क्षेत्रका ३४ विधामा हुने तालिमलाई आवेदन खुला


काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि सीप मेला २०८२ गर्दैछ। यसका लागि आवेदन आह्वान गरेको छ। जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ विषयसँग सम्बन्धित तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।

Tata
GBIME

सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले बताए। यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य कामपाको छ। कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटिमा व्यापार व्यवसाय गरिरहेकाहरूलाई तालिमको प्राथमिकतामा राखिएको छ।

१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ। १० क्षेत्रका ३४ विधामा हुने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ। दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइनेछ। आइसीटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, बौद्धिक कृत्रिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम हुनेछन्।

स्पेशल एबिलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पीडब्लुडी) र केयर सर्भिस गरी दुई वटा विधाका तालिम चल्नेछन्। इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सीसीटीभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम हुनेछन्।

गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधामा तालिम हुनेछन्। कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम हुनेछ। हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा तालिम हुनेछ।

अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन हुनेछ। आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ।

ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ। कृषिमा फूलको सजावटसम्बन्धी तालिम हुनेछ। सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम हुनेछ।