राजस्वको लक्ष्यमा सरकार तीन वर्षदेखि फेल, कर प्रणालीमा सुधार गर्न महालेखाको सुझाव

बिजमाण्डू
२०८२ बैशाख ३१ गते १६:४६ | May 14, 2025
राजस्वको लक्ष्यमा सरकार तीन वर्षदेखि फेल, कर प्रणालीमा सुधार गर्न महालेखाको सुझाव
अर्थसचिव घनश्याम उपाध्याय र राजस्वसचिव दिनेश घिमिरे। फाइल तस्वीर


काठमाडौं। सरकारले चालु वर्ष १४ खर्ब १९ अर्ब राजस्व संकलनको लक्ष्य लिएकामा १० महिनामा ६४.७८ प्रतिशत भन्दा उठेको छैन।

Tata
GBIME
NLIC

अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री विष्णु पौडेलले गत माघ २४ गते राजस्वको लक्ष्य १२ खर्ब ८६ अर्बमा झारेकामा त्यो लक्ष्य पनि पूरा हुने देखिंदैन।

सरकार राजस्वको लक्ष्यमा फेल हुन लागेको यो आर्थिक वर्ष मात्र होइन। पछिल्ला तीन आर्थिक वर्षमा राजस्वका कुनै पनि लक्ष्य पूरा हुन नसकेको देखिएको छ।

आर्थिक वर्ष २०७८/७८ यता आयकर, भ्याट, अन्त:शुल्क र भन्सार महसुलको लक्ष्यमा सरकार सधैं फेल भएको देखिएको हो।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार अन्य कर लक्ष्यभन्दा बढी संकलन भएपनि बाँकी शीर्षकमा सरकार असफल देखिएको छ।

गत आर्थिक वर्ष सरकारले १४ खर्ब २२ अर्ब राजस्व संकलनको लक्ष्य लिएकामा ७६.११ प्रतिशतभन्दा उठ्न सकेको थिएन। भन्सार महसुलको लक्ष्यमा सरकार ३४.६१ प्रतिशतले पछि परेको थियो।

महालेखापरीक्षक कार्यालयले समग्र कर प्रणालीमा सुधार गर्न तथा प्रशासनिक दक्षता अभिवृद्धि गर्न सुझाव दिएको छ।