
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन्। क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि उनी लगायत नेपाली टोलीका खेलाडीलाई क्यानले आजै मुलपानीमा बिदाइ गरेको थियो।
पूर्व कप्तान लामिछानेलाई क्यानले आफ्नो केन्द्रीय सम्झौतामा ‘ए’ क्याटागोरीमा राखेको थियो। केन्द्रीय सम्झौताका हिसाबले ‘ए’ क्याटागोरीका खेलाडीले मासिक १ लाख रुपैयाँ प्राप्त गर्छन्।
आजको बिदाइ कार्यक्रममा सहभागी भएका उनले त्यसपछि सामाजिक सञ्जालमा यसपटक केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्।
क्रिकेट संघ नेपालले उनले सामाजिक सञ्जालमा लेखेको कुरालाई अध्ययन गरेर निर्णय गर्ने जनाएको छ।
‘प्लेयर कोडअफ कन्डक्टको पनि कुरा आउँछ। क्यानमा छलफल पछिमात्रै के हुने भन्ने निर्णय हुन्छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने।
यसअघि लामिछानेले जय ट्रफीका क्रममा रेफ्रीसँग विवादमा उत्रिएका थिए। पछि उनले समाजिक सञ्जालमा रेफ्रीको स्तरलाई लिएर प्रश्नसमेत उठाएका थिए। यो प्रकरणमा उनलाई क्यानले एक खेलको निलम्बन गरेको थियो भने ३ डिमेरिट अंक पाएका थिए।
‘धेरै सोचविचार गरेपछि, मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट टाढा जाने कदम होइन। यो व्यक्तिगत र व्यावसायिक रूपमा विकसित हुनेतर्फको पाइला हो,’ लामिछानेले भनेका छन्।
नेपाली टोली आजै बेलायततर्फ प्रस्थान गर्ने क्यानले जनाएको छ। आजको बिदाइमा कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक स्टुअर्ट ल उपस्थित थिएनन्। पौडेल परीक्षाका कारण उपस्थित थिएनन् भने ल व्यक्तिगत कारणले नेपाल बाहिर छन्। रोहित शुक्रबार बेलायततर्फ जानेछन्।
नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले तयारी राम्रो भएको भन्दै लिग-२ को तालिकामा स्थान सुधार्ने लक्ष्य भएको बताए। ऐरीले उपकप्तानमा दोहोर्याएर जिम्मेवारी पाएका हुन्।