रेशम चौधरी पक्राउबारे नागरिक उन्मुक्तिले माग्यो जवाफ, सरकार छोड्ने चेतावनी

बिजमाण्डू
२०८२ बैशाख २२ गते १२:३६ | May 5, 2025
रेशम चौधरी पक्राउबारे नागरिक उन्मुक्तिले माग्यो जवाफ, सरकार छोड्ने चेतावनी


काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आफ्ना संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ माग्दै सरकार छोड्ने चेतावनी दिएको छ।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले मंगलबारको बैठकमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका हुन्। नागरिक उन्मुक्ति पार्टीसँग ४ सांसद छन्।

‘वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्‍याइयो। पक्राउ पूर्जी फर्जी भनेर सर्वोच्च अदालतले भनेको छ। यतिबेलासम्म पनि सरकारले कहिं कतै अभिव्यक्ति दिएको छैन,’ लालवीरले भने, ‘म सभामुखमार्फत भन्न चाहन्छु, भोलिको दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए हामी सरकार छोडेर अवरोध गर्न बाध्य हुनेछौं।’

प्रहरीले वैशाख १७ गते सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्ट लेखेको पत्रका आधारमा रेशमलाई प्रज्ञा भवनबाट पक्राउ गरेको थियो। अधिकृतले आफूखुशी जथाभावी पत्र लेखेको पाइएपछि सर्वोच्चकै अर्को पत्रका आधारमा रेशम त्यही दिन करिब ५ घण्टापछि कारागारमुक्त भएका थिए।

सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि रेशमलाई पक्राउ गरिएको विषयमा विरोध जनाए।