
भद्रपुर (झापा)। यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१/८२ को नौ महिनामा ८२ करोड १६ लाख ४८ हजार ४ सय २ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार १ सय १६ रुपैयाँ संकलन गरेको हो।
चालु आवको चैत महिनासम्म सवारीसाधनको कर संकलन बापत ६९ करोड ६ लाख २२ हजार ५ सय ४२ रुपैयाँ उठेको छ। यातायात क्षेत्रको आम्दानीबापत ९६ लाख ६० हजार ६ सय ६७, सवारीचालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख ८९ हजार ६ सय ५१ रुपैयाँ राजस्व उठेको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार चालु आवको नौ महिनामा उक्त कार्यालयमा ९ हजार ९ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका छन्। अनुसार गत आव २०८०/८१ को अन्त्यसम्ममा जिल्लामा २ लाख ६ हजार ८ सय ८४ सवारीसाधन दर्ता भएको तथ्यांक छ।
कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सर्वाधिक संख्यामा दर्ता भएका सवारीसाधनमा मोटरसाइकल पहिलो नम्बरमा छ। नयाँ मोटरसाइकल ३ हजार २ सय ३६ वटा दर्ता भएका छन्।
यसैगरी ई–रिक्सा २ हजार ५ सय ४९, स्कुटर २ हजार ३ सय ४५, ई–स्कुटर ५ सय ७९, कार १ सय ८०, ट्र्याक्टर १ सय ७६, जिप १ सय ६८, बस १ सय ८, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन्। रासस