
बायर्न म्युनिखले जर्मन बुण्डेस लिगाको उपाधि जितेको छ। आइतबार सम्पन्न बुण्डेस लिगाको खेलमा दोस्रो स्थानको बेयर लेभरकुशन फ्रेइबर्गसँग २-२ गोलको बराबरीमा रोकिएसँगै बायर्न लिग च्याम्पियन बनेको हो।
बुण्डेसलिथमा बायर्नले ३२ खेलबाट ७६ अंक बनाउँदै शीर्षस्थानमा छ। दोस्रो स्थानको लेभरकुशनले समान खेलबाट ६८ अंक बनाएको छ। दुबै टोलीको दुई खेल बाँकी हुँदा बायर्न ८ अंकले अगाडि रहँदै उपाधि सुरक्षित गरेको हो।
योसँगै इङ्ग्ल्याण्डका कप्तान ह्यारी केनको नाममा करियरकै पहिलो उपाधि हात लागेको छ। सन् २०१२ देखि प्रिमियर लिग क्लब टोटेनहम हट्स्परमा खेलेका उनी सन् २०२३ मा बायर्न पुग्दासम्म कुनै उपाधि जित्न सकेका थिएनन्।
अघिल्लो खेलमा लाइपजिग विरुद्ध बायर्नले ३-२ गोलअन्तरले जितको मुखैमा पुग्दा केन सेलिब्रेसनका लागि तयार भएका थिए। तर, इन्ज्युरी समयमा युसुफ पउलसेनले गोल गर्दै खेल बराबरीमा ल्याएपछि बायर्न च्याम्पियन बन्न अझै कुर्नु पर्यो। ‘ह्यारी अब अर्को साता।’ उनका टिममेट थोमस मुलरले इन्स्टाग्राममा लेखेका थिए। तर, उनले अर्को सातासम्म भने कुर्नै परेन।