
विराटनगर। सरकारको आत्मघाती भन्सार नीतिका कारण स्वदेशी दाना उद्योग धमाधम बन्द हुन थालेका छन्। संचालनमा रहेका उद्योग पनि ३५ प्रतिशतभन्दा बढी उत्पादन गर्न सकेका छैनन्।
सरकारले स्वदेशी उद्योगलाई मार्ने र विदेशी आयातित दानालाई पोस्ने भन्सार नीति लिएका कारण समस्यामा परेको जानकारी धेरै अर्थमन्त्रीलाई जानकारी गराइसकेका छन्। तर, सुनुवाइ भएको छैन।
उनीहरुले आफ्नो उद्योग जोगाउन दौडधुप भने छाडेका छैनन्। उनीहरुको आशावादी छन्, अहिलेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी दाना उद्योगलाई जोगाउन आत्मघाती भन्सार नीति सुधार्नेछन्। र, आत्मनिर्भर रहेको दाना उद्योग गुल्जार बन्नेछ। पूर्ण उत्पादनमा उद्योग संचालनमा आएर बैंक ऋण धमाधम तिर्ने वातावरण तयार हुनेछ।
के भन्छन् उद्योगी ?
नेपाल दाना उत्पादक संघका अध्यक्ष रविन पुरीले महसुल संरचना उद्योगमैत्री हुन नसक्दा माछा र गाईभैंसीको तयारी दाना भारतबाट आयात हुने क्रम बढ्दो रहेको बताए।
यस्तो तयारी दाना साफ्टाअन्तर्गत आयात गर्दा भन्सार महसुल ५ प्रतिशत मात्रै छ। तर, दाना उत्पादनका लागि आवश्यक पर्ने ३ वटै मुख्य कच्चा पदार्थ आयात गर्नुपर्दा यसभन्दा बढी महसुल तिर्नुपर्छ। सबै प्रकारका कच्चा पदार्थको औसत महसुल हिसाब गर्दा १५ प्रतिशत पुग्ने उद्योगीको भनाइ छ।
जसमध्ये एक मुख्य कच्चा पदार्थ मकै हो। दाना उद्योगले मकैको सबैभन्दा बढी आयात भारतबाट गर्दछन्। भारतबाट मकैको आयात गर्दा भन्सार महसुल ५ र अग्रिम आयकर २.५ गरी कुल ७.५ प्रतिशत महसुल छ। त्यस्तै, भारतबाहेक अन्य सार्क मुलुकबाट आयात गर्दा भन्सार महसुल ९ र अग्रिम आयकर २.५ गरी ११.५ प्रतिशत छ। तेस्रो मुलुकबाट ल्याउँदा भन्सार महसुल १० र अग्रिम आयकर २.५ प्रतिशत गरी १२.५ प्रतिशत महसुल छ।
तर, मकैको आयातमा लागेको उक्त अग्रिम आयकर उद्योगीले समायोजन गर्न पाउँदैनन्। उद्योगीले अग्रिम आयकरको यस प्रावधानलाई गैरकानुनी र करप्रणालीको विश्वव्यापी सिद्धान्त तथा मान्यताको विपरीत भएको भन्दै विरोध गरिरहेका छन्। यसबाट उद्योगको लागत बढेको उनीहरूको भनाइ छ।
कुनै पनि सभ्य र विकसित मुलुकमा भन्सारविन्दुले आयातमा अग्रिम आयकर लिने अभ्यास नभएको उद्योगीको जिकिर छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ अर्ब ७३ करोड ७५ लाख मूल्यको मकै आयात हुँदा भारतबाट १० अर्ब ६३ लाखको भएको छ। यसपछि अर्जेन्टिनाबाट १ अर्ब २४ करोड १४ लाख, ब्राजिलबाट १ अर्ब १४ करोड २६ लाख र टर्कीबाट १ अर्ब ११ करोड ८१ लाखको आयात भएको छ।
अर्जेन्टिना, ब्राजिल र टर्कीबाट आयात भएको मकै पशुपन्छीको दानाको कच्चापदार्थका लागि नभई पपकर्न भएको जानकारले बताएका छन्।

त्यस्तै, अर्को मुख्य कच्चा पदार्थ भटमास भारतबाट आयात गर्दा लाग्ने कृषिसुधार शुल्क र भारतबाहेक अन्य सार्क मुलुकबाट साफ्टा अन्तर्गत आयात गर्दा लाग्ने भन्सार महसुल दुवैको दर ९ प्रतिशत छ। तेस्रो मुलुकबाट ल्याउँदा १० प्रतिशत महसुल छ। भटमासको आयातमा अग्रिम आयकर छैन।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ अर्ब ८ करोड ५५ लाखको भटमासको आयात हुँदा सबैभन्दा बढी अमेरिकाबाट ५ अर्ब ५३ करोड २१ लाखको आएको छ। त्यसपछि भारतबाट ४१ करोड ६८ लाख र क्यानाडाबाट ११ करोड ७८ मूल्यको भटमास ल्याइएको छ।
दानाको उत्पादनमा प्रयोग हुने अर्को मुख्य कच्चा पदार्थ पिना हो। साफ्टा अन्तर्गत सार्क मुलुकबाट पिना ल्याउँदा ६ प्रतिशत, भारतबाट ल्याउँदा कृषिसुधार शुल्क ९ र समुद्रपारका मुलुकबाट भित्र्याउँदा १० प्रतिशत महसुल छ। दाना उद्योगले पिनाको आयातमा भ्याट तिर्नुपर्दैन । साथै यसमा अग्रिम आयकर पनि छैन।
पिनाको आयात भारतबाट मात्र भइरहेको छ। चालु आर्थिक वर्षको ९ महिनामा ५४ करोडको पिना आयात भएको छ।
‘यसरी भन्सारको तथ्यांकले नै बोलेको छ, तयारी दानाको आयात महसुलभन्दा मुख्य कच्चा पदार्थ मकै, भटमास र पिनाको धेरै छ सरकारले यस्तो लगानीविरोधी महसुल सच्याउनु पर्छ,’ अध्यक्ष पुरीले भने।
चितवनमा गत वर्षदेखि अन्नपूर्ण माछा उद्योगबाट उत्पादन सुरु गरेका युमेश थापाले आयातीत दानासित प्रतिस्पर्धा गर्न नसकेर आफ्नो उद्योग ३ दिनमा १ दिन मात्र सञ्चालन भइरहेको जानकारी दिए।
उनले आफूले नेपालमा मत्स्यपालन तीव्र रूपमा बढेको र नेपाल माछामा आत्मनिर्भर भएको देखेर उत्साही हुँदै अत्याधुनिक युरोपियन प्रविधिको माछाको दाना उद्योग स्थापना गरेको बताए ।
‘तर हाम्रो गणित र विश्वास सफल भएन । अधिकांश माछापालकले भारतीय दाना नै प्रयोग गरिरहनु भएको छ । आयातित दाना सस्तो हुँदा हामी प्रतिस्पर्धा गर्न सकिरहेका छैनौँ,’ थापाले सुनाए।

अविनाश ग्रुपले सुनसरीको लौकहीमा गौरीशंकर एग्रो इन्डस्ट्री नामको माछाको दाना उद्योग सञ्चालन गरिरहेको छ। आयातित भारतीय दानासँग प्रतिस्पर्धा गर्न नसकेर यस उद्योगले उत्पादनमा ६५ प्रतिशतले कटौती गरिरहेको व्यवस्थापनले जनाएको छ।
उद्योगका सञ्चालक गुणचन्द्र विष्टले भने, ‘गौरीशंकर एग्रोको प्रतिघण्टाको उत्पादन क्षमता ५० टन हो। तर हामी मुस्किलले १५ देखि १८ टन उत्पादन गरिरहेका छौँ।’
उद्योगी विष्टले मकै, भटमास र पिनाबाहेक दानाको उत्पादनमा अन्य सप्लीमेन्ट्री भिटामिन पनि आवश्यक पर्ने र तिनको भन्सार महसुल २० प्रतिशतसम्म रहेको बताए।
विष्टका अनुसार माछाको दाना उद्योगलाई कच्चा पदार्थको आयातमा औसतमा १५ प्रतिशत महसुल लागिरहेको छ। जबकि साफ्टाअन्तर्गत ५ प्रतिशत महसुलमा तयारी दाना नै प्रशस्त आयात भइरहेको छ।
पशुपन्छी तथा माछाको दानामा भ्याट नलाग्ने हुँदा यो उद्योग भ्याटमा दर्ता हुँदैन। तर, उद्योगले निर्माणसामग्री, मिलमेसिनरी र पार्टपुर्जा, कार्यालयका फर्निचर लगायतका उत्पादन प्रयोजनका धेरै वस्तुमा भ्याट तिरेको हुन्छ।

उद्योगी विष्टले यस्ता वस्तुमा उद्योगले तिरेको भ्याट क्रेडिट गर्न नपाउने हुँदा लागतमा वृद्धि भएको उल्लेख गरे।
उनले कुनै पनि सभ्य र विकसित मुलुकले भन्सारविन्दुमा नै अग्रिम आयकर नलिने जिकिर गर्दै समायोजन नै गर्न नपाइने अग्रिमकर भनेको उद्योगविरोधी दस्तुर भन्दै आक्रोश व्यक्त गरे।
दाना उत्पादक संघले अर्थ मन्त्रालय र भन्सार विभागमा पत्राचार गर्दै कुकुर र बिरालाको दानाको महसुलमा ३० र पशुपन्छी तथा माछाको दानाको महसुलमा २० प्रतिशत महसुल कायम गर्न माग गरेको छ।
संघका अध्यक्ष पुरीको हस्ताक्षरमा पठाइएको पत्रमा दाना उद्योगका लागि भटमासको पिनामा १.६, भटमासको दानामा १ तथा मकैदाना र कपासको दानामा १–१ प्रतिशत महसुल तोक्नुपर्ने बताइएको छ।
चालु आर्थिक वर्षको ९ महिनामा ४६० करोड रुपैयाँको दाना आयात हुँदा भारतबाट ३१० करोडको भएको छ। त्यस्तै गत आर्थिक वर्षको चैत सम्ममा ३९८ करोडको आयात गरिँदा भारतबाट २६८ करोडको भएको छ।