औद्योगिक सम्पत्तिको दर्तालाई राज्यले प्रोत्साहन गर्नु पर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

बिजमाण्डू
२०८२ बैशाख १३ गते १५:३२ | Apr 26, 2025
औद्योगिक सम्पत्तिको दर्तालाई राज्यले प्रोत्साहन गर्नु पर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्न राज्यले भूमिका बढाउनु पर्ने बताएका छन्।

Tata
GBIME
NLIC

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सो धारणा राखेका हुन्।

बौद्धिक सम्पत्ति (आइपी)बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्कका विषयमा विवादहरू आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताए। यस्तै, उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल, सहज र छिटो बनाउनु पर्ने बताए।

‘नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई सुरक्षित गरिएको छ। जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ। यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्नेछ,’ उनले भने।

उनले गीतसंगीत क्षेत्र मनोरञ्जन उद्योगका रूपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरूले सिर्जनाको संरक्षण गर्न आवश्यक रहेको बताए।

विश्व बौद्धिक सम्पदा संगठन (वाइपो)ले पहिलो विश्व आइपी दिवस २००१ मा मनाउन थालेको थियो। संगठनले यो वर्षका लागि आइपी एन्ड म्युजिक फिल द बिट अफ आइपी नारा तय गरेको छ।