
काठमाडौं । सन् २०१५ को अन्त्यतिर हुन्डाईले सार्वजनिक गरेको ‘क्रेटा’ नेपाली सडकमा गेमचेन्जरका रुपमा स्थापित भयो। यसले नेपाली बजारमा मिड साइज एसयूभीको क्रेज स्थापित मात्र गरेन, ह्याचब्याक र सेडानबाट मानिसलाई एसयूभीतिर पनि खिच्यो। सन् २०१५ को भूकम्पपछि पुनर्निर्माणले लिएको गति र त्यससँग जोडिएको आर्थिक गतिविधिले अर्थतन्त्र ‘भाइब्रेन्ट’ बनिरहेको अवस्थामा क्रेटाले नेपाली सडकमा आफ्नो उपस्थिति जनाएको थियो।
बस्ती विकास र नयाँ निर्माणको श्रृखला चलिरहँदा अर्थतन्त्र चलायमान रह्यो। त्यसैले घरजग्गालाई नयाँ उचाईमा पुर्यायो। मिड साइज एसयूभीका लागि त्यतिखेरको परिस्थिति यति धेरै अनुकूल बन्यो कि हुन्डाइले नेपालमा आफ्नो ‘मार्केट स्पेयर’ ह्वात्तै बढायो। मध्यमदेखि ठूला लगानीमा जोडिएका व्यावसायीबीच क्रेटाको क्रेज रहिरह्यो।
सन् २०२५ मा आइपुग्दा पुरानो क्रेटाको क्रेज यथावत रहेन। क्रेटालाई पछ्याउँदै धेरै कम्पनीहरु मिड साइज एसयूभीमा हात हाल्नेक्रम बढ्यो। फ्रान्सेली रिनल्टदेखि हुन्डाइकै भगिनी कम्पनी कियासम्मले मिडसाइज एसयूभी उतारे। जापानी कम्पनी निसान होस् या होन्डा, मिड साइज एसयुभीले उत्पादनमा नयाँ दिशा लिए। सुजुकीले ब्रेजामार्फत् यसको आधार तयार गर्यो। मिडसाइज एसयुभीबाट कम्प्याक्ट एसयूभीतिर पनि कम्पनीहरुको चासो बढ्न थाल्यो।
नेपालको अटोमोबाइल इन्ड्रस्टीमा एसयूभीले एक किसिमले कब्जा नै गरिरहँदा विद्युतीय सवारी (इभी)ले नयाँ ट्रेन्डको संकेत गरिरहेको थियो। अमेरिका र युरोपमा टेस्लाले पाएको सफलतालाई चिनियाँ र कोरियाली कार उत्पादकहरुले अनुसरण गर्न थालिहाले। जुन कम्पनीले यस सेगमेन्टमा ‘लेट इन्ट्री’ गरे तिनले आइसी इन्जिनलाई नै इभीमा रुपान्तर गर्न थाले। कोरियन कम्पनी हुन्डाईले कोना र आयोन फाइभजस्ता लग्जरी इभी बजारमा उतारेपछि आफ्नो लोकप्रिय ब्रान्ड क्रेटालाई पनि विद्युतीय बनायो।


सन् २०२५ को जनवरीमा दिल्ली अटो शो मार्फत् क्रेटा इभी लन्च भयो। यसपालाको टेस्ट ड्राइभमा हामीले पुरानो विरासत बोकेको हुन्डाइको क्रेटा इभी लिएर आएका छौं।
पुरानो र भरपर्दो इमेज बोकेको क्रेटा इभी कस्तो छ त? के यसले आफ्नो पुरानो बजार हिस्सालाई फर्काउन सक्ला? नेपाली सडकमा यसको प्रतिस्पर्धा र चुनौती के छ? यी तीन मुख्य प्रश्नको जवाफ हामीले यसपालाको टेस्ट ड्राइभमार्फत् सम्बोधन गर्ने प्रयास गरेका छौं। क्रेटा इभीलाई हामीले सहज सहरी बाटो, घुमाउरो र असहज उकालो तथा केही समय अफरोडमा पनि कुदायौं। यी सबै परीक्षणपछि हामीले यसको पर्फर्मेन्स मूल्यांकन गरेका छौं। यो यात्रामा यहाँहरुलाई स्वागत छ।


२०२४ मा आइपुग्दा हुन्डाइले क्रेटाको हुलिया पूरै बदलेको छ। यसको इन्टेरियर र बाहिरी आवरणमा पनि निक्कै फेरबदल गरेको छ। कतिपय फिचर कियाको सेल्टससँग मिल्दोजुल्दो पनि बनाएको छ। यसखाले सबै फिचर इभी सेगमेन्टमा पनि इन्टिग्रेट गरेको छ हुन्डाइले। त्यसबाहेक फ्रन्ट ग्रिलमा इभीको टोन दिएको छ क्रेटामा। यसमा थोरै कोना र आयोनिक फाइभको लुक्स पनि समेटेको देखिन्छ।
इन्टेरियरतर्फ ड्यासबोर्डलाई केही फरक र फ्युचरिस्टिक देखाउन खोजेको छ। इन्फोटेनमेन्ट क्लस्टरमा समान्य सुधार देखिन्छ। यसलाई डिजिटलाइज गरिरहँदा ट्रेडिसनल अपेरियन्सलाई पनि ख्याल गरेको देखिन्छ। क्यामरामा ३६० डिग्री सुविधा छ जसले सुरक्षाप्रति सचेत गराउँछ। दायाँ या बायाँ मोड्न संकेत गरेसँगै त्यसतर्फको क्यामरा अन भएर गोलाकार सेपमा भिजुअल डिस्प्ले हुन्छ। भिजुअल सानो देखिए पनि फरक लुक्सको अनुभूति यसले गराउँछ।

हामीले टेस्ट ड्राइभ गरेको क्रेटा इभीमा ९९ किलोवाट क्षमताको मोटर र ४२ किलोवाट क्षमताको ब्याट्री छ जसले कम्पनीको दाबी पत्याउने हो भने ३९० किलोमिटरको दुरी तय हुनसक्छ। हामीले पूरै ब्याट्री डिस्चार्ज हुनेगरी गाडी नगुडाएकाले कम्पनीको दाबीलाई स्वतन्त्र पुष्टि गरेका छैनौं। यद्यपि, कुनै पनि इभी चलाउने शैली र बाटोको अवस्थाले कति रेन्ज मिल्छ भन्ने तय हुन्छ। त्यसैले एउटै क्षमताको गाडी पनि चलाउने व्यक्तिपिच्छे फरक रिजल्ट आउनसक्छ।
हाम्रो दोस्रो प्रश्न थियो – के यसले आफ्नो पुरानो बजार हिस्सालाई फर्काउन सक्ला? माथि नै उल्लेख गरिसक्यौं क्रेटाको क्रेज त्यतिखेर थियो जतिखेर अर्थतन्त्रको गति तीब्र थियो। घरजग्गा होस् या सेयर बजार धेरैखाले अर्थतन्त्रका सूचकहरु यसखाले उत्पादन खपत हुनका लागि अनुकूल थिए। यतिखेर आर्थिक सूचकांकहरु फितलो छ। त्यसबाहेक क्रेटा इभीमा आउनुभन्दा पहिले नै मिड साइज एसयूभीमा बलिया खेलाडीहरु उपस्थित छन्।


हिजो क्रेटाले बजार बनाउने मौका पाएको थियो भने अब इभीमा अरुले बनाएको बजार खोस्नुपर्ने अवस्थाको दबाबमा हुन्डाइ रहनेछ। इभीमा प्रिमियम लेभलका गाडी नेपाली सडकमा कुदिरहेकाले मूल्यसँगै फिचरको पनि तुलना हुने नै छ। यसखाले चुनौती हुन्डाइसामु रहनेछ।
हाम्रो तेस्रो प्रश्न थियो नेपाली सडकमा यसको प्रतिस्पर्धा र चुनौती के छ? नेपालको सडकका लागि क्रेटा एउटा बलियो अप्सन हो। बजारमा उपलब्ध प्यासेन्जर भेहिकल तर्फ ग्राउन्ड क्लियरेन्सको मामिलामा क्रेटा अब्बल मानिन्छ। धेरैजसो इभी ग्राउन्ड क्लियरेन्सको मामिलामा कमजोर छन्। कतिपय चिनिया कम्पनीले त नेपालका लागि ग्राउन्ड क्लियरेन्स बढाएरै कार पठाउने गरेका छन् भने कतिपयले यही ल्याएर बुस थपेर अग्ल्याउने गरेको पनि पाइन्छ। यसखाले अभ्यास वैज्ञानिक दृष्टिकोणबाट गलत मानिन्छ।

ग्राउन्ड क्लियरेन्सको मामिलामा क्रेटा बलियो दावेदार हो। यसमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ। हामीले उकालो र अफरोडमा यसलाई लैजाँदा सहज यात्रा महसुस गर्न सक्यौं। निर्धक्क भए हुन्छ – नेपाली सडकका लागि यो गाडीमा कुनै समस्या छैन। तर, जब यही सेगमेन्टका गाडीमा रहेका फिचरसँग तुलना हुन्छ – क्रेटासामु चुनौती देखिनसक्छ। कतिपय त प्रयोगमा नै आउन नसक्ने ओभरलोडेड फिचर भएका चिनियाँ इभीको तुलनामा यसमा रहेका फिचर केही कम लाग्छ। बजार हिस्सा बढाइसकेका र फिचरमा आफूलाई बलियो बनाइसकेका इभीसँग प्रतिस्पर्धा क्रेटाका लागि चुनौती हो।
नेपाली बजारमा ५२ लाखबाट क्रेटा इभी उपलब्ध छ। भारतीय बजारमा उपलब्ध क्रेटाको सबैभन्दा महँगो आइसी इन्जिनवाला र इभी तुलना गर्ने हो भने नेपालमा निक्कै सस्तो महसुस हुन्छ। बजार विस्तारका लागि हुन्डाइका लागि यो बलियो अवसर हो। त्यसबाहेक ब्रान्ड भ्यालु र नेपालको बिक्री पछिको सर्भिसिङमा लक्ष्मी हुन्डाइको जुन क्षमता छ त्यो इभीका लागि पनि बलियो एसेट हो। ब्रान्ड र बिक्रीपछिको सेवाका हिसाबले क्रेटा इभीलाई कम आँक्न सकिन्न। हाम्रो टेस्ट ड्राइभमा यो खरो उत्रिएको छ।





