
काठमाडौं। केपी शर्मा ओली जबजब प्रधानमन्त्री हुन्छन्, अनि सुपारीको अनधिकृत कारोबार उचाइमा पुग्ने गर्छ। यस पटक त्यस्तै भएको छ।
उद्योग विभागको सिफारिसमा वाणिज्य विभागले विभिन्न ११ उद्योगका नाममा १० हजार टन सुपारीको कोटा वितरण गरिसकेको छ।
व्यवसायीले नाम मात्रको कागजी उद्योग देखाएर त्यही उद्योगका नाममा इन्डोनेसियाबाट सुपारी ल्याइ अनधिकृतरूपमा भारत पठाउने प्रपञ्चमा कोटा लिएका हुन्।
यसरी कोटा लिनेमा श्रीराम टोबाको, श्री देउती गुट्खा, बालाजी उद्योग लगायत गुट्खाको वास्तविक उत्पादन गरिरहेका जेनुइन उद्योग पनि छन्।
तर, अधिकांशले नक्कली उद्योग देखाएर कोटा हात पारेका छन्। यीमध्ये सबैभन्दा बढी कोटा लिने विराटनगर महानगरपालिका-९ मा रहेको मनकामना उद्योग हो।
वाणिज्य विभागले यस उद्योगका नाममा ६ हजार २१० टन सुपारीको कोटा जारी गरेको छ। जबकि नेपालमा मनकामना नामको कुनै पनि गुटखा उद्योग नै छैन।
यो उद्योग विराटनगरका नवीन घिमिरेका नाममा छ। घिमिरे नेपालका चर्चित र विवादास्पद सुपारी कारोबारी दीपक पोखरेलका आफन्त हुन्।
सौर्य एयरका अध्यक्ष रहेका पोखरेल र उनको समूहले ओली प्रधानमन्त्री भएपिच्छे सुपारीको खेल गर्दै आएको छ।
२०७९ साउनमा कोशी प्रदेश प्रहरी कार्यालयले विराटनगर भन्सारबाट जाँचपास भएर भारतीय भूमिमा पुगिसकेको ५ ट्रक सुपारी पक्राउ गरेको थियो। यो सुपारी नवीन नै सञ्चालक रहेको मनकामना ट्रेडर्सका नामबाट निर्यात गरिएको थियो।
दीपकको सुपारी समूहमा रहेका नविनले यसपटक मनकामना उद्योग नामको कम्पनी दर्ता गराएर ६ हजार टनभन्दा बढी सुपारी आयात गरेका छन्। यसको उद्देश्य जसरी भए पनि भारत निर्यात गर्ने हो।
बोहराले खोले रहस्य
विराटनगरका उद्योगी भवानीशंकर बोहराले लामो समयदेखि मधु प्रोडक्ट्स नामको उद्योगबाट ‘मधु’ ब्रान्डमा गुट्खाकै साइजको मिठा सुपारी उत्पादन गरिरहेका छन्।
उनले ‘मधु’का लागि हरेक वर्ष १ सयदेखि २ सय टन सुपारीको कोटा लिने गर्थे। तर, यस वर्ष वाणिज्य कार्यालयले मधु प्रोडक्ट्सका नाममा ५२७ टन सुपारीको कोटा जारी गरेको छ।
बोहराले यति धेरै सुपारी तह लगाउन मधु प्रोडक्ट्सको उद्देश्य थप गरेका छन्। जसअनुसार यस उद्योगले आधा किलो तौलमा काटेको सादा सुपारीको प्याकेट ‘अंशु’ ब्रान्डमा निकाल्न थालेको छ।

सुपारी काट्ने मेसिन कति मूल्यमा ल्याउनु भयो? बिजमाण्डूको प्रश्नमा बोहराले भने, ‘मेसिन छैन। यसका लागि एक महिला कामदार नियुक्त गरेको छु। उनले दिनभरि सरौताले सुपारी काट्छिन्। त्यही सुपारीलाई हामी विभिन्न तौलमा प्याकिङ गरेर बजारमा पठाउछौँ।’
बोहराका अनुसार यस्तो सादा सुपारीमा अन्तःशुल्क लाग्दैन। त्यसैले काम गर्न सजिलो छ। सरौताले लगभग ५ सय टन सुपारी कसरी कटिङ गराउनु हुन्छ त? बिजमाण्डूको जिज्ञासामा बोहराले स्पष्ट जवाफ दिएनन्। ‘हेर्दै जाऊँ के हुन्छ। सबै तपाईंले बुझ्नु भएकै छ नि ? मलाई किन सोध्नुहुन्छ?,’ उनले भने।
बोहराको सादा सुपारी उत्पादन गर्ने नाम मात्रको ‘सरौते उद्योग’ले ५२७ टन सुपारीको कोटा लिँदा नेपालको सबैभन्दा ठूलो गुट्खा उद्योग श्रीराम टोबाकोले ८६० टनको मात्र अनुमति लिएको वाणिज्य विभागले जनाएको छ। त्यस्तै अर्को वास्तविक गुट्खा उद्योग श्री देउती गुट्खा इन्डस्ट्रीले ५८९ टनको कोटा लिएको छ।
वाणिज्य विभागका अुनसार आयात अनुमति पाएका उद्योगमा आइपीए गुट्खा, महाशक्ति गुट्खा, गणपति एग्रो प्रोडक्ट र अरिहन्त प्रोसेसिङ उद्योग पनि छन्।
अनुमतिमा सरकार लचिलो
नाम मात्रको उद्योग देखाउनेलाई सुपारी आयात गर्न दिन सरकार निक्कै लचिलो देखिएको छ। वाणिज्य विभागले अन्य धेरै उद्योगले सुपारीको आयातका लागि अनुमति मागिरहेको बताएको छ।
उद्योगका लागि सुपारी आयातको अनुमति लिन सर्वप्रथम उद्योग विभागको सिफारिस लिनुपर्छ। वाणिज्यले उद्योगको सिफारिसका आधारमा अनुमति जारी गर्छ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले विभागमा निवेदन लिएर आएका सबै उद्योगलाई आयातका लागि सिफारिस दिएको स्पष्ट पारे।
‘सिफारिस मैले दिएको हुँ। उद्योग दर्ताको प्रमाणपत्र लिएर कोही आउँछ भने किन नदिने? तर सबै उद्योगलाई मागेजति कोटाको सिफारिस दिइएको छैन,’ ज्ञवालीले भने।
सिफारिस लिन आउने व्यवसायीले साँच्चैको उद्योग चलाएका छन् कि छैनन्? बिजमाण्डूको जिज्ञासामा ज्ञवालीले भने, ‘हाम्रो काम उद्योग छ किन छैन भनेर निरीक्षण गरेर सिफारिस दिने होइन। उद्योग दर्ताको प्रमाणपत्र र उद्योगले उल्लेख गरेको क्षमताको अध्ययन गरेर दिने हो।’
श्रीराम टोबाको उद्योगका सञ्चालक चुन्नुप्रसाद पौडेलले स्वदेशी उत्पादनले नपुग्ने भएकाले सुपारी आयात गर्नुपरेको बताए। ‘आयात गरेको सुपारीको प्रत्येक दाना प्रशोधन गरेर गुट्खा उत्पादन गर्छौं,’ उनले भने।
किसानको विरोध कायमै
कृषकहरूले भने सरकारले सुपारी आयातका लागि दिएको अनुमतिको खुलेर विरोध गरिरहेका छन्। नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले देशमै उत्पादन भएको सुपारीलाई बेवास्ता गरेर आयात अनुमति दिनु दुर्भाग्यपूर्ण भएको बताए।
‘हामी किसानले उत्पादन गरेको सुपारी बिक्री हुन सकेको छैन। तर सरकारले भने अन्धाधुन्धरुपमा आयातको अनुमति दिइरहेको छ। यो खेदपूर्ण छ,’ उनले भने।
उनका अनुसार कोशी प्रदेशका झापा, इलाम र सुनसरीमा वार्षिक १४ हजार ५०० टन सुपारी उत्पादन हुने गरेको छ।
वीरगञ्जका व्यवसायीले सिकाए
नाम मात्रको सुपारी कटिङ उद्योग खडा गरेर आयातको अनुमति लिने अनि अनधिकृत रूपमा भारत पठाउने धन्दामा वीरगञ्जका एक कारोबारी पहिलेदेखि नै संलग्न रहेको खुलेको छ।
ती व्यवसायीले गणपति प्रोडक्ट्स नामको उद्योग दर्ता गरी ‘सच्चा मोती’ ब्रान्डमा काटेको सादा सुपारी बिक्री गर्दै आएका छन्।

अन्य व्यवसायीले गणपति प्रोडक्ट्सकै अनुकरण गरेर नाम मात्रको सुपारी कटिङ उद्योग दर्ता गरी आयातको अनुमति लिएका हुन्।
व्यवसायीले इन्डोनेसियाबाट आयात हुने सुपारी भारतमा तस्करी गर्न थालेपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको अग्रसरमा सरकारले २०७७ फागुन २५ देखि यसमा परिमाणात्मक बन्देज लगाएको थियो।
त्यसबेला सरकारले सुपारी सँग मरिच, केराउ र छोकडा आयातमा पनि परिमाणात्मक बन्देज लगाएको थियो। चारै वस्तुको बन्देज हालसम्म कायम छ।
यही बन्देजका कारण व्यवसायीले ओली प्रधानमन्त्री भएको बेलाको फाइदा उठाइ भारत तस्करी गर्ने उद्देश्यले सुपारी आयातको कोटा लिँदै आएका छन्।