बजेट अधिवेशनको पहिलो दिन ओलीले संसदमा गर्ने भनिएको सम्बोधन अन्तिम समयमा रोकियो

बिजमाण्डू
२०८२ बैशाख १२ गते ११:५४ | Apr 25, 2025
बजेट अधिवेशनको पहिलो दिन ओलीले संसदमा गर्ने भनिएको सम्बोधन अन्तिम समयमा रोकियो


काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएकोमा अन्तिममा स्थगित भएको छ।

Tata
GBIME
NLIC

शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनको पहिलोदिन प्रतिनिधि सभामा ओलीले सम्बोधन गर्ने तय भएको थियो। तर, अन्तिममा ओलीले सम्बोधन नगर्ने भएका हुन्। बैठक आज १ बजे बस्दैछ।

सभामुख देवराज घिमिरेको सचिवालयले ओलीले सम्बोधन नगर्ने जानकारी आएको बताएको छ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइनेछ।

व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ। संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रुपमा पनि लिइन्छ। यही बैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल बैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले जनाएका छन्। बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि-बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ।