
विराटनगर। सिमेन्टको घट्दो माग र क्लिंकरमा समेत कार्टेलिङले मारमा परेका ग्राइन्डिङ उद्योग ऋण तिर्नका लागि पुन: सञ्चालनमा आउन थालेका छन्।
भूकम्पपछि बढेको मागलाई ख्याल गर्दै ग्राइन्डिङ युनिट लगाएका उद्योगहरु बैंक ऋण तिर्ने अन्य उपाय नभएपछि पुन: संचालनमा आउन थालेका हुन्।
कोशी प्रदेशको सबैभन्दा ठूलो ग्राइन्डिङ युनिट नेपाल अल्ट्राटेकले व्यावसायिक उत्पादन चाँडै सुरु गर्दैछ। उद्योगका संचालक मनिष मारुले सुरुवातमा दैनिक पाँच सय टन उत्पादन गर्ने जानकारी दिए। हाल यस उद्योगको बैंकिङ दायित्व ३ अर्बभन्दा माथि छ।
‘बैंक ऋण तीन अर्बभन्दा बढी भइसकेको छ। लामो समयदेखि उद्योग बन्द नै राख्दा ऋणको ग्राफ तीव्र रूपमा माथि पुगेको छ। यसलाई रोक्न पनि उत्पादन गर्नु पर्ने भयो। उद्योग चलाउँदा पनि मरिन्छ, नचलाउँदा पनि मरिन्छ भने चलाउनै ठिक लाग्यो,’ मारुले भने।
नेपाल अल्ट्राटेकसँग दैनिक एक हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ।
अल्ट्राटेकले ‘बन्धन’ ब्रान्डमा ओपीसी र पीपीसी दुबै प्रकारका सिमेन्ट उत्पादन गर्छ। काठमाडौँदेखि झापासम्मका १७ व्यवसायीले साढे तीन अर्ब लगानीमा मोरङको बुढीगंगा गाउँपालिकामा स्थापना गरेको यस उद्योगले २०७७ देखि उत्पादन सुरु गरेको थियो।
उद्योग सञ्चालन हुनेबित्तिकै कोभिड कहर सुरु भयो। कोभिडपछि उद्योग व्यवसाय बैंकको महँगो ब्याजदरको मारमा परे। डेढ वर्षयता ब्याजदर निरन्तर सस्तो भएको छ। तर, आर्थिक शिथिलताका कारण निर्माण सामग्रीको माग बढ्न सकेको छैन। उद्योगले प्रतिकूलताको सामना गर्नु परिरहेको छ। सरकारले निर्माण व्यवसायीको भुक्तानी रोकेको प्रत्यक्ष असर पनि उद्योगले नै खप्नुपरेको छ।
अर्कातिर स्वदेश वा विदेश दुवैतिर क्लिंकर खरिद महँगो छ। यस्तै अप्ठ्याराका कारणले उद्योग बन्द गर्नु परेको थियो। उद्योगका एक सञ्चालक हरिवंश राठीले उद्योगका १७ संस्थापकमध्ये १५ जनाले आफ्नो सेयर फिर्ता लिने निर्णय भएको जानकारी दिए।
१५ जनाको सेयर मारु र रजनिश करनामीले खरिद गर्ने प्रक्रिया सुरु भइसकेको छ। अब उद्योग मारु र करनामीले चलाउनेछन्।
मारु विराटनगरका युवा उद्योगी हुन्। नेपाल अल्ट्राटेकको व्यवस्थापनमा उनी सुरुदेखि नै प्रत्यक्ष संलग्न छन्। त्यस्तै करनामी झापाका ठूला कोइला व्यवसायी हुन्। यस उद्योगमा आरम्भकालदेखि नै करनामीको साझेदारी छ।
करनामी देशका ठूला सिमेन्ट उद्योगलाई कोइला बिक्री गर्छन्। क्लिंकर उत्पादन गर्ने सबै ठूला सिमेन्ट उद्योगसँग उनको घनिष्ठ व्यावसायिक सम्बन्ध छ। सरकारले पुँजीगत खर्च बढाएर निर्माण कार्यलाई तीव्रता दिए बन्द भएका अन्य ग्राइन्डिङ उद्योग पनि पुनः सञ्चालनमा आउने उनको दाबी छ।
‘कुनैबेला देशमा आफैं क्लिंकर उत्पादन गर्ने सिमेन्ट उद्योग थिएनन्। त्यस समयमा हामीजस्तै ग्राइन्डिङ उद्योगले सिमेन्टको आन्तरिक बजार धानिदिएका थियौँ र मुलुकलाई सिमेन्टमा आत्मनिर्भर पनि बनाएका थियौँ। तर अहिले क्लिंकर उत्पादन गर्ने उद्योगसँग हामी प्रतिस्पर्धी हुन सकिरहेका छैनौँ। सरकारले यसलाई गम्भीर रूपमा लिएर हामीलाई टिकाउने उपाय सोच्नुपर्छ,’ मारुले भने।
यसरी संकटमा परे ग्राइन्डिङ युनिट
आफैं क्लिंकर उत्पादन गर्ने सिमेन्ट उद्योगले मूल्यमा कार्टेलिङ गर्दै महँगोमा क्लिंकर बिक्री गर्न थालेपछि ग्राइन्डिङ उद्योग प्रतिस्पर्धामा उत्रन सकेनन्।
महँगो क्लिंकर र माग खुम्चिएपछि धेरै ग्राइन्डिङ युनिट बन्द भए। सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न भारतबाट आयात हुने क्लिंकरमा प्रति टन २४ सय भन्सार महसुल र भ्याट लगायो। जसका कारण भारतबाट आयात हुने क्लिंकर टनकै ५०० भन्दा महँगो भयो।
कोशी प्रदेशका १३ वटा ग्राइन्डिङ उद्योगमध्ये तीन वटाले मात्रै उत्पादन गरिरहेका छन्। अन्नपूर्ण, मेगा, जानकी, इस्टर्न कसमस, हिमालयज, कञ्चनजंघा, मनसा, मित्तल, सनराइज र काबेली सिमेन्ट बन्द छन्।