
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पोखरा थण्डर्स र धनगढी एफसी भिड्नेछन्।
धनगढी एफसी लगातार तेस्रो फाइनल पुग्ने होडमा रहने छ। यसअघिका दुई संस्करणको उपाधि क्रमशः काठमाडौं रेजर्स र ललितपुर सिटीले जित्दा दुवैमा उपविजेता धनगढी बनेको थियो।
जारी संस्करणमा पनि शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेलेको धनगढी ललितपुर सिटीसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो।
अर्कोतर्फ पोखराको कथा फरक छ। जारी संस्करणमा लिग चरणका सुरुवाती २ खेलमा हार बेहोर्दै खराब सुरुवात गरेको पोखराले त्यसपछि सानदार पुनरागमन गर्न सफल भयो।
शीर्ष ४ भित्र रहँदै पोखराले एफसी चितवनसँग इलिमिनेटर खेलेको थियो। अब, दोस्रो क्वालिफायरमा धनगढीलाई हराउँदै पहिलो पटक एनएसएलको फाइनलमा पुग्ने ध्येयमा पोखरा हुनेछ।
यी २ टोली हालसम्म ४ पटक आमनेसामने भएका छन्। जसमा धनगढीले दुईपटक जित निकाल्दा दुईवटा खेल बराबरीमा रोकिएको थियो।
धनगढीसँग अहमद हिजाजी, सर्जियो बारबोजाजस्ता प्रभावशाली खेलाडी छन् भने पोखरासँग जोए ऐडू, स्टेफेन बिनोङजस्ता खेलाडी छन्।
विजयी टोलीले उपाधिका लागि ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ।
आजको खेलमा विश्वका महानतम लेफ्टब्याकमध्येका रोबर्टो कार्लोस रंगशालामा आउनेछन्। उनी मंगलबार नेपाल आएका थिए।
खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ। टिकट खल्ती र आइएमई पे एपबाट लिन सकिनेछ। टिकट शुल्क साधारणतर्फ ४ सय र भीआईपीतर्फ १५ सय रुपैयाँ तोकिएको छ।