
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गा व्यक्तिको स्वामित्वमा हुँदा सरकार र निजी क्षेत्रले अघि बढाएका धेरै परियोजना वर्षौंसम्म अल्झिएको आरोप लगाएका छन्।
नेपाल जग्गा तथा आवास विकास महासंघको मंगलबार तेस्रो स्थापना दिवस समारोहमा बोल्दै उनले विदेशमा सरकारले चाहनेबित्तिकै जग्गाधनीलाई जर्याकजुरुक उठाउने गरेको भन्दै नेपालमा व्यक्तिगत स्वामित्वका जग्गा धेरै भएकाले समस्या भएको बताए।
‘हामीसँग अब जग्गा साना-साना टुक्रामा परिणत भइसकेका छन्। चक्लाबन्दी गर्दा मैले पनि राम्रो ठाउँको जग्गा रोज्छु, अर्काले पनि राम्रै ठाउँ रोज्छ। कि त जग्गाधनीले लगाएको बोलीअनुसार सरकारले जग्गाको मूल्य दिन सक्नुपर्यो। नत्र हाम्रोमा व्यक्तिगत स्वामित्वका कारण विभिन्न समस्या आएका छन्,’ उनले भने, ‘लालपुर्जामा सरकारले चाहेको बखत सम्पत्ति अधिग्रहण गर्न सक्ने लेखिएको छ। तर, त्यो लेखेको मात्रै छ।’
कुनै पनि परियोजना अघि बढाउँदा एउटा व्यक्तिले सम्पत्तिका कारण अल्झाइदिएर वर्षौंसम्म रोकिएको उनले बताए।
‘त्यो व्यक्तिलाई फकाउँदा फकाउँदा धेरै समय लाग्छ। त्यस्तो अवस्था सृजना भएको छ। अब जग्गाधनीहरु मिलेर सट्टापट्टा गरेर चक्लाबन्दी गर्ने प्रावधान खुलाइदिने हो भने केही हदसम्म जग्गा टुक्रिने अवस्था रोकिन सक्छ,’ उनले भने।
यस्तै, उनले घरजग्गा व्यवसायीहरुले आफ्नो फाइदाका लागि काम गर्छन् भन्ने बुझाइ फेर्नुपर्ने बताएका छन्। आवाज उठेको विषयलाई मात्रै सम्बोधन गर्ने तर अरु प्रावधानलाई समयसापेक्ष नबनाउँदा कार्यान्वयनमा बाधा परिरहेको बताएका हुन्।
पुराना नियम कानुन संशोधन गर्नुपर्दा जताबाट बढी आवाज उठेको छ त्यो बुँदा मात्रै परिमार्जन गर्ने परिपाटी फेर्नुपर्ने बताएका छन्। मन्त्री अधिकारीले विदेशमा घरजग्गा व्यवसाय प्रतिष्ठित उद्योगको रुपमा विकास भएपनि नेपालमा त्यसो हुन नसकेको बताए।