
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थल विस्तारका क्रममा जग्गा खरिदमा अनियमितता गरेको भन्दै परेको उजुरीमा छानबिन अघि बढाएको छ।
अख्तियारले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग उजुरीका सम्बन्धमा वस्तुस्थिति उपलब्ध गराउन पत्राचार गरी छानबिन अगाडि बढाएको हो। अख्तियारको पत्रपछि पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ७ दिनभित्र आवश्यक कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ।
अख्तियारले आफूलाई प्राप्त सूचना अनुसार आलेले मन्त्री हुँदा धनगढी विमानस्थल विस्तार गर्ने भन्दै बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेको दाबी गरेको छ।
आलेमाथि व्यक्तिगत कम्पनी खडा गरेर जग्गा खरिद गरेको आरोप छ। आलेले तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार पवन गुप्ता र आफ्ना स्वकीय सचिव हेमन्त रेग्मीसँग मिलेर विमानस्थल आसपासमा जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ।

विमानस्थल विस्तार गर्ने भन्दै आलेले बजेट विनियोजन तयारी गरेका बेला जग्गा किनेको जिकिर गरिएको छ।
‘मन्त्री हुँदा आलेले सुरुमा धनगढी विमानस्थल आसपास जग्गा खरिद तयारीसँगै एउटा कम्पनी पनि खडा गरेका थिए,’ उजुरीमा भनिएको छ, ‘त्यसबेला नागरिक उड्डयन प्राधिकरणको मुद्दती खातामा रहेको १ अर्ब रुपैयाँ मेगा बैंकमा जम्मा गर्न लगाएका थिए। त्यसपछि उनले बैंकलाई मिलाएर जग्गा धितो राख्दै १ अर्ब ऋण लिएका हुन्।’
सो ऋणबाट आलेले धनगढी विमानस्थल वरपर ७५ करोड रुपैयाँबराबरको ३० बिघा जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ।
त्यसबेला आलेको समूहले प्रति कठ्ठा साढे १२ लाखका दरले जग्गा किनेको थियो। विमानस्थल बन्दा ५० लाख प्रति कट्ठाका दरले बेच्ने योजना र अन्य व्यापारिक संरचना निर्माण गर्ने योजना बनाएको उजुरीमा उल्लेख छ।
आलेले आफु मन्त्री हुँदा धनगढी विमानस्थल विस्तारको योजना ल्याइ मुआब्जाका लागि भनेर १ अर्ब बजेट छुट्टाएका थिए।
‘२०७८ पुस ११ गते तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा एउटा बैठक बसेको थियो,’ उजुरीमा उल्लेख छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको सोही बैठकले धनगढी विमानस्थल विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो।’
त्यो बेला धनगढीलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई २ हजार ५ सय मिटरको बनाउने योजना अगाडि सारिएको थियो।