
इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ। कोलकातास्थित इडेन गार्डेन स्टेडियममा गुजरातले घरेलु टोलीलाई ३९ रनले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ९० रन बनाउँदा साइ सुदर्शनले ५२ बनाए। त्यस्तै, जोस बट्लर ४१ र मोहम्मद शाहरुख खान ११ रनमा अविजित रहे।
बलिङतर्फ कोलकाताका वैभव अरोरा र आन्द्रे रसेलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ८ विकेट गुमाएर १५९ रनमा समेटियो। कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन बनाउँदा आन्द्रे रसेलले २१ तथा सुनिल नारायण र रिंकु सिंहले समान १७ रन बनाए। त्यस्तै १३ बलमा अविजित २७ रन बनाउँदै अङक्रिस रघुवंशीले टोलीलाई लक्ष्यको नजिक लग्ने प्रयस गरे पनि सफल हुन सकेनन्।
बलिङतर्फ गुजरातका प्रसिद कृष्णा र राशिद खानले समान १ विकेट लिँदा मोहम्मद सिराज, इशान्त शर्मा, वासिंटन सुन्दर र साइ किशोरले समान १ विकेट लिए।
योसँगै गुजरात ८ खेलबाट १२ अंक बनाउँदै अंकतालिकामा शीर्षस्थानमा छ। अर्कोतर्फ ८ खेलमा ६ अंक बनाएको कोलकाता संकटमा छ।
आईपीएलमा आज लखनउ सुपर जायन्ट र दिल्ली क्यापिटल्स भिड्नेछन्।