विश्वकप पुग्न अफगानिस्तान चुनौती, फाइनल सरहको खेलका लागि नेपालको कस्तो छ तयारी?

बिजमाण्डू
२०८२ बैशाख ५ गते १३:४५ | Apr 18, 2025
विश्वकप पुग्न अफगानिस्तान चुनौती, फाइनल सरहको खेलका लागि नेपालको कस्तो छ तयारी?


काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीले काठमाडौंमा जारी यू-१९ विश्वकप छनोटमा लगातार ३ खेलमा जित निकालेको छ। पहिलो खेलमा यूएई, दोस्रोमा ओमन र तेस्रो खेलमा हङकङलाई हराएको नेपालसामू अर्को चुनौती छ, अफगानिस्तानको।

Tata
GBIME

नेपालको विश्वकप समीकरण सीधा छ : शनिबार अफगानिस्तानलाई हराउन सके सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपमा स्थान पक्का। विश्वकप छनोटदेखि नै नेपालले अर्जुन दृष्टि राखेको टोली हो टेस्ट राष्ट्र अफगानिस्तान।

शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा यी दुई टोली आमनेसामने हुनेछन्। यी दुवै टोलीले ३ खेल खेल्दा सतप्रतिशत जित निकालेका छन्।

नेपालको विश्वकप पुग्ने बाटोमा अफगानिस्तान तगारो बन्न सक्ने आकलन पहिल्यै गरिएको थियो। त्यसकारणपनि विश्वकप छनोटलाई नै केन्द्रित गरेर नेपालले अफगानिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेलेको थियो।

उक्त सिरिज अफगानिस्तानले २-१ ले जित्यो। पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा जित नजिक पुगेर १ रनको हार व्यहोरेको थियो। वर्षाले बाधा पुर्‍याएको तेस्रो खेलमा भने नेपालले डीएलएस मेथडका आधारमा पाहुना टोलीलाई हराउँदै सिरिजमा सान्त्वना जित निकालेको थियो।

विश्वकप पुग्ने होडबाट हङकङ, यूएई र ओमन भने बाहिरिसकेका छन्।

‘अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदा मोरल हाइ भएको छ। यसैलाई क्वालिफायर्समा निरन्तरता दिने योजनामा छौँ,’ नेपाली टोलीका प्रशिक्षक शक्ति गौचनले सिरिजपछि विश्वकप छनोटअघि भनेका थिए।

अफगानिस्तानसँगको सिरिजका क्रममा नेपालको मिडल अर्डर ब्याटिङ फितलो बनेको थियो। प्रशिक्षक गौचनले त्यसलाई सुधार्ने बताएका थिए।

त्यसयता नेपालले ३ खेल खेल्दा यूएईविरुद्धको खेलमाबाहेक नेपालको ब्याटिङ सन्तोषजनक छ।

अफगानिस्तानसँग सिरिज खेल्दा नेपालले प्रभावशाली बलर युवराज खत्रीलाई मैदान उतारेन। त्यसबेला प्रशिक्षक गौचनले उनलाई मिस्ट्री बलरका रुपमा राखेको बताएका थिए।

‘युवराज खत्रीलाई अफगानिस्तानसँग खेलाएनौँ। त्यो योजना बमोजिम नै हो। मिस्ट्री हिसाबले राखेका हौँ। क्वालिफायर्समा उ हुनेछ,’ गौचनले सिरिजपछि भनेका थिए।

खत्री टोलीको मुख्य स्पीनर र विकेट टेकर भएकाले अफगानिस्तानसँगको खेलमा उनको भूमिका महत्त्वपूर्ण हुने कप्तान नरेन भट्ट बताउँछन्।

‘युवराजले चोटका कारण म्याचहरू खेलिरहेको थिएन। अफगानिस्तानसँग अन्तिम म्याच छ विश्वकप छनोटको। उसले यसलाई निरन्तरता दिन्छ भन्ने भरोसा छ,’ कप्तान भट्टले भने।

उनले भनेजस्तै खत्रीको प्रदर्शन पछिल्ला दुई खेलमा प्रभावशाली रह्यो। यूएईविरुद्ध विकेट लिन नसकेका उनले ओमनविरुद्ध ५ र हङकङविरुद्ध ४ विकेट गरी ९ विकेट लिइसकेका छन्।

अफगानिस्तानसँगको सिरिजमा नचलेका कप्तान नरेन भट्टको पछिल्लो लयले पनि नेपाली टोलीलाई बल दिएको छ। उनले यूएईविरुद्ध ६७, ओमनविरुद्ध अविजित १२ र हङकङविरुद्ध अविजित ३९ रन बनाएका थिए।

‘रन आउन थालेपछि कन्फिडेन्स अझ आउँछ। रन नलाग्दा त्यही हिसाबले अभ्यास पनि गरिरहेको थिएँ,’ भट्ट भन्छन्, ‘अफगानिस्तानलाई हराउँछौँ भन्ने आशा छ। सबैजना कन्फिडेन्ट छन्। हामी छनोट हुन्छौँ भन्ने विश्वास छ।’

अर्कोतर्फ नेपाली बलरका लागि अफगानी ओपनर खालिद अहमदजाइ चुनौती बन्न सक्छन्। उनले यूएईविरुद्ध १३२, हङकङविरुद्ध अविजित ३० र ओमनविरुद्ध ४० रन बनाएका थिए।

नेपालसँगको सिरिजको पहिलो खेलमा ७६ रन बनाएका खालिदको त्यसपछिका दुई खेलमा भने ब्याटिङ चलेको थिएन।

कप्तान भट्ट विश्वकपमा छनोट हुने सपना शनिबार पूरा हुनेमा टोली विश्वस्त भएको बताउँछन्।

‘सिनियर होस् या उमेर समूह विश्वकप खेल्ने सबैको सपना हुन्छ। यसलाई पूरा गर्छौँ भन्ने आशा छ,’ उनले भने, ‘अफगानिस्तानसँगको पछिल्ला दुई खेलमा राम्रो गरेकाले हामी कन्फिडेन्ट छौं।’