
काठमाडौं। यू-१९ विश्वकप छनोटमा नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ। तल्लो मुलपानी मैदानमा आज सम्पन्न खेलमा हङकङलाई ९ विकेटले हराउँदै नेपालले विश्वकपको पुग्ने सम्भावनालाई बलियो बनाएको हो।
यू-१९ विश्वकप पुग्न हाल पाँच टोली प्रतिस्पर्धामा छन्। नेपालले यसअघि यूएईलाई डिएल मेथडबाट ५ रनले र ओमनलाई ८ विकेटले हराएको थियो। आजै माथिल्लो मुलपानी मैदानमा अफगानिस्तान र यूएई प्रतिस्पर्धामा छ। यूएई अफगानिस्तानले दिएको २४९ रनको विशाल लक्ष्य पछ्याइरहेको छ। अब, शनिबार हुने खेलमा अफगानिस्तानलाई हराए विश्वकप पुग्ने नेपालको सीधा समीकरण छ। अफगानिस्तानले आज यूएईलाई हराए यूएई, हङकङ र ओमन भने विश्वकप जाने होडबाट बाहिर हुनेछन्।
बुधबार तल्लो मुलपानी मैदानमा नेपाली टोलीका कप्तान नरेन भट्टले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। सुरुवाती ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनायो।
हङकङका लागि शिव माथुरले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ६३ रन बनाउँदा आर्य पञ्जवानीले १३, वीर माथुरले १२ तथा ह्यारी थोमसले १० रन बनाए।
बलिङतर्फ नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिँदा विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि साहिल पटेलले सर्वाधिक अविजित ४२ रन बनाउँदा नरेन भट्ट ३९ रनमा अविजित रहे। त्यस्तै, निरजकुमार यादव २३ रनमा अविजित रहे।
शनिबारको नेपाल र अफगानिस्तानबीचको खेल फाइनल सरह हुनेछ। लगातार तीन खेलमा अपराजित रहेका यी दुई टोलीबीचको विजेता टोलीले यू-१९ विश्वकपमा स्थान बनाउने छ।