बुटवललाई हराउँदै पोखरा पुग्यो एनएसएलको प्लेअफमा, एक खेल अगावै बाहिरियो झापा

बिजमाण्डू
२०८२ बैशाख २ गते २०:५८ | Apr 15, 2025
बुटवललाई हराउँदै पोखरा पुग्यो एनएसएलको प्लेअफमा, एक खेल अगावै बाहिरियो झापा
गोलअघि बढाउँदै पोखराका आयुष घलान। तस्बिर: एनएसएल


काठमाडौं। पोखरा थण्डर्स नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुगेको छ। मंगलबार सम्पन्न लिग चरणको खेलमा पोखराले बुटवल लुम्बिनी एफसीलाई २-० गोलले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो।

Tata
GBIME

पोखरालाई खेलको ९ औँ मिनेटमै आयुष घलानले अग्रता दिलाएका थिए। समीर तामाङले दिएको क्रसमा घलानले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा विलियम बिआस्सीले अग्रता दोब्बर बनाए। ५८ औँ मिनेटमा कर्नरबाट आएको बलमा हेडरमार्फत नै उनले गोल गरे।

जितसँगै पोखरा प्लेअफ खेल्ने तेस्रो टोली बनेको छ। यसअघि ललितपुर सिटी एफसी र धनगढी एफसीले प्लेअफमा स्थान बनाएका थिए। शीर्ष दुईमा रहने यी दुई टोलीले पहिलो क्वालिफायर खेल्ने पक्का छ। अर्कोतर्फ पोखराले भने काठमाडौ र चितवनमध्ये एक टोलीसँग इलिमिनेटर खेल्नेछ। बुटवल लुम्बिनी एफसी र झापा एफसी भने प्लेअफको होडबाट बाहिरिसकेका छन्।