असन्तोष र निराशाका बीच आशा, आर्थिक सुधार गर्न सके सम्भव छ देशको समृद्धि

बिजमाण्डू
२०८२ बैशाख १ गते ०६:३१ | Apr 14, 2025
असन्तोष र निराशाका बीच आशा, आर्थिक सुधार गर्न सके सम्भव छ देशको समृद्धि
तस्बीर : एएफपी


विक्रम सम्बत २०८१ लाई बिदाइ गर्ने मुखैमा पूर्व अर्थ सचिव रामेश्वर खनाल नेतृत्वको विज्ञ समूहको आयोगले उपहारमा दिएको छ- ४७८ पेजको सुझाव। त्यो उपहार कुनै सेक्रेट डकुमेन्टका रुपमा भन्दा पनि श्वेतपत्र जस्तैगरी सरकारले पब्लिक डोमेनमा राखिदिएको छ, अर्थमन्त्रीले बुझेलगत्तै। अर्थतन्त्रलाई गति दिन उच्चस्तरीय आर्थिक सुझाव आयोगको डकुमेन्ट जसरी सार्वजनिक गरियो त्यसले लोकतान्त्रिक चरित्रलाई थप बलियो बनाएको छ।

Tata
GBIME
NLIC

अर्थतन्त्रलाई गति दिने, अवसरका ढोका खोल्ने, विश्वासको वातावरण तय गर्ने, प्राकृतिक स्रोतको सदुपयोग गर्ने, सीमारहित अर्थतन्त्रको विकास गर्न दिइएको सुझावको मुल उद्देश्य हो- आर्थिक स्थायित्व र आर्थिक वृद्धिदरमा सुधार।

चरम निराशा र असन्तोषका श्रृङ्खलाबीच आएको प्रतिवेदनले नै सबै समस्या सुल्झाउने होइन। तर, यसकै ‘रेफरेन्स’मा गर्न चाहने हो भने आधार चाहिँ तयार भएको छ। भएन भन्ने ‘न्यारेटिभ्स’बाट हामी एक चरण अगाडि पुगेका छौं- समस्या पहिचान र समाधानको सुत्र लिएर।

विक्रम सम्बत २०८१ को आखिरी सातामा आएको सुझाव आयोगको प्रतिवेदन नयाँ वर्ष २०८२ का लागि ‘उपहार’ बनोस्। तोकेको समयभन्दा अगाडि प्रतिवेदन पेश भएजस्तै सरकारका लक्ष्य र योजनाहरू अगाडि नै सकिउन्। मुलुकको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनका लागि प्रतिवेदनको कार्यान्वयनले गति लेओस्।

किनकि मुलुक सधैं निराशा र सकसपूर्ण परिस्थितिको बन्दी बनिरहन सक्दैन। निकासका लागि सरकार र निजी क्षेत्रको साझेदारीले मूर्त रुप लिने हो भने सम्भावना सन्निकट छ। किनकि समस्याका श्रृङ्खलाको पहिचान नै सुधार र परिवर्तनको प्रस्थान विन्दु बन्न सक्छ। हामी नयाँ वर्षमा यही सकारात्मक ऊर्जाको अपेक्षा गर्दछौं। निराशाबाट आशा र बेथितिबाट थितिको थालनीको विकल्प छैन।

चरम सकसपूर्ण समय व्यतित गरे पनि सडक पूर्वाधारको क्षेत्र यतिखेर केही गतिशील बनेको छ। यही रफ्तार कायम रहे, एकाध वर्षमा हामी- सडकसँग संघर्ष गरिरहनुपर्ने अवस्थामा रहन्नौं। विद्युत् उत्पादन थपिनेक्रम जारी छ, ऊर्जा संकटबाट मुक्तिको बाटोतिर हामी सोझिएका छौं।

स्थानीय तहमा धेरै पूर्वाधारका काम भएका छन्। आगामी दिनमा विनियोजन हुने बजेट पूर्वाधारका नयाँ आयामतिर पुग्नेछन्। सडकबाट शिक्षा, स्वास्थ्य र प्रविधितिरको यात्राले हामीलाई नयाँ गति दिनेछ। अर्थतन्त्रको सुरुङमा कुनै न कुनै क्षण ब्रेक थ्रु हुने नै छ।

आर्थिक क्षेत्रमा देखिएको निराशाकै बीचमा पनि केही नभइरहेको होइन। राजधानी लगायत देशका पर्यटकीय क्षेत्रमा तारे होटलले आफ्नो आकार विस्तार गरिरहेका छन्। विश्वका चर्चित चेन होटलका व्यवस्थापन नेपालसँग जोडिनेक्रम बढ्दो छ।

यसखाले पूर्वाधारले सम्भावनाको आधारशीला तयार गरिरहेको छ। राजनीतिक नेतृत्व थोरैमात्र संवेदनशील भइदिने हो भने पनि पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई होस्टेमा हैंसे गराउने निश्चित छ। अतिथि स्वागतसँग जोडिएको क्षेत्रमा निजी क्षेत्रको अपेक्षालाई राजनीतिक स्थिरताले मात्र सही मूल्याङ्कन गर्न सक्छ।

औद्योगिक वातावरणमा तुँवालो रहे पनि त्यो सधैं अडिरहन सक्दैन। कुनै न कुनै दिन हुने वर्षा या हुरीले त्यो तुँवालोलाई हटाउने नै छ। किनकि बनिबनाउ ठाउँमा त जसले पनि आफूलाई प्रमाणित गर्नसक्छ। राजनीतिक, नीतिगत अथवा व्यावसायिक नेतृत्वको क्षमता त्यतिखेर परख हुनसक्छ जतिखेर सकस र संकटको सामना गर्नुपर्ने अवस्था रहन्छ। संकटमा नै क्षमता पुष्टि गर्नसक्ने अवसर हुनसक्छ। सरकार र निजी क्षेत्र दुवै त्यही क्षमता पुष्टि गर्नुपर्ने अवस्थामा छन् सहकार्य होस् या साझेदारीबाट।

केही वर्षअघि हामीसँग अर्थतन्त्र जोगाउन पुग्ने विदेशी मुद्राको चरम अभावबाट गुज्रियौं। आज हामीसँग त्यसको पर्याप्तता छ। वित्तीय क्षेत्रसँग तरलताको अभाव थियो। आज हरेक दिन राष्ट्र बैंकले बजारबाट पैसा उठाइरहनु परेको छ। निजी क्षेत्रको गुनासो हुन्थ्यो- ब्याज चर्को भयो, लगानी गर्न नसकिने भयो। आज ब्याज सस्तिएको छ। अहिले केही चाहिएको छ भने त्यो हो- आत्मविश्वास।

अरु कसैले दिने विश्वास होइन त्यो। सरकार र निजी क्षेत्रले एकअर्काप्रति जुन दिन भरोसा गर्न सुरु गर्छन्- वातावरण आफैँ तयार हुन्छ। लगानी विस्तारको प्रस्थानविन्दु त्यहीँबाट तय हुन्छ। यो सबैका लागि ‘क्याटालिस्ट’ त कोही हुनैपर्छ। अर्थ, उद्योग, वाणिज्य, पर्यटन, भौतिक पूर्वाधार मन्त्रालय हुन् या नेपाल राष्ट्र बैंक- सक्रिय अनि सकारात्मक दृष्टिकोण हुनैपर्छ। हामी त्यही व्यावसायिक वातावरणको नवीन सुरुवातको प्रतीक्षामा छौं।

व्यावसायिक वातावरण अर्थतन्त्र सुधारको जग हुने गर्छ। त्यही जगलाई हामीले जति दरिलो बनाउन सक्छौं त्यति नै अर्थतन्त्रका खम्बाहरू दिगो रुपमा उभिन सक्छन्। सम्भावित समस्याका भारलाई थेग्न सक्छ। ओत दिनसक्छ संकटको घडीमा।

सरकारले त्यस्तै जग निर्माणका लागि उत्प्रेरकको भूमिका खेल्ने हो- निजी क्षेत्र त्यसमा विश्वस्त बन्ने वातावरण बनाउने हो। त्यो वातावरण जसप्रति निशंकोच हुन सकुन् लगानी गर्न चाहनेहरू। निजी क्षेत्र जति फस्टाउँछ त्यसको प्रतिफल कुनै न कुनै हिसाबले सरकारले पाउन थालिहाल्छ।

हामीले भुल्न नहुने के हो भने कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशत निजी क्षेत्रको योगदान छ। निजी क्षेत्रकै योगदान ७० प्रतिशत छ रोजगारीमा। आशा र अवसर दुवै निजी क्षेत्रसँगै छ। तर, पछिल्ला केही वर्षयता निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण आवेगपूर्ण रहे। त्यसको त्रास निजी क्षेत्रमा पर्नु अस्वभाविक होइन। किनकी सरकारको हेयपूर्ण हेराइ जनस्तरसम्म ‘ट्रिकल डाउन’ हुन्छ नै।

आर्थिक वातावरण बिगार्न ठूलो गतिविधि चाहिन्न, थोरैमात्र मनोबल गिराइदियो भने नै पुग्छ। गिरेको त्यो मनोबल उठाउन चाहिँ हिम्मत चाहिन्छ। नीतिगत तहमा रहेर काम गर्नुपर्ने नेतृत्व स्वार्थको द्वन्द्वमा रुमलिँदा निजी क्षेत्र मुकदर्शक बन्छ। किनकि त्यसखाले द्वन्द्व कहिले ट्रङ्क लाइनको विषयमा पोखिन्छ त कहिले ठेक्कापट्टामा। ठेकेदारलाई भुक्तानी दिनुपर्ने रकमको विषयदेखि सडक विस्तारमा हटाउनुपर्नेजस्ता अति सामान्य विषय पनि केन्द्रीय मुद्दा बनिरहनु आफैँमा दुर्भाग्यपूर्ण रहे।

यसबीचमा न राज्यले कुनै ठूला आयोजना अघि सार्न सक्यो। न त चलिरहेका आयोजनालाई थप रफ्तार दिन। त्यही भूमरीमा निजी क्षेत्र प्रेरित हुन सकेनन्। ठूला प्रोजेक्ट आँट्ने वातावरण उनीहरूको प्रतीक्षाको विषय बन्यो। सबै पर्ख र हेरकै रणनीतिमा रहे। अब कुर्ने र हेर्ने दिन सकियो। केही गर्ने बेला आएको छ। किनकि यस बीचमा हामी त्यस्ता विषयमा अल्झियौं- जसबाट कहीँ पुग्न सकिँदैन।

हामीसँग जे थिए, त्यसलाई पहिचान गर्न पछि पर्‍यौं। कहाँ त्रुटि छन्, हाम्रा नजर तिनैमा अल्झिरह्यो। आशा र सम्भावनातिर भन्दा असन्तुष्टितिर लगातार हेरिरहँदा उत्साह ओइलाउँदो रहेछ- विगतले हामीलाई यही सिकाएको छ। तर, गुजुल्टिएका रेसाहरुलाई सुस्तरी सुल्झाउँदै जाने हो भने सबै गाँठाहरू फुक्दै जानेछन्। अर्थतन्त्रलाई गति दिने हो भने एउटा लक्ष्य निर्धारण गरेर दौडिनै पर्छ- म्याराथन शैलीमा, दुर दृष्टि सहित।

विगतमा हामी नकुदेको कहाँ हो र? हाम्रो रफ्तार पनि थियो। परिश्रम पनि पर्‍यो। यतिमात्र हो त्यो दौडाइ कुनै ट्रेडमिलमा भएजस्तै रह्यो- असिनपसिन भइयो। मेहनत पनि पर्‍यो। पुग्न चाहिँ कतै पुगिएन। एउटा लक्ष्यभेदी गन्तव्य नै निर्धारण गर्ने हो भने के सधैं यस्तै मेहनतले चल्छ त? पक्कै विकल्प सम्भावनाको फराकिलो नयाँ राजमार्गसहितको हुनुपर्छ। त्यहाँ कुनै अवरोधबिना पाइलाहरू चल्नुपर्छ। नयाँ वर्ष हाम्रो मेहनतलाई नयाँ दिशा दिन प्रेरित बनोस्। यहाँहरू सबैलाई शुभकामना।