आँबुखैरेनी गाउँपालिकावासीलाई चुमानले दिए राहत, स्कुले विद्यार्थीको सबै उपचार नि:शुल्क

बिजमाण्डू
२०८१ चैत्र २६ गते १३:५४ | Apr 8, 2025
आँबुखैरेनी गाउँपालिकावासीलाई चुमानले दिए राहत, स्कुले विद्यार्थीको सबै उपचार नि:शुल्क


काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।

Tata
GBIME
NLIC

गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालमा हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अब आइन्दा निजी तथा सामुदायिक विद्यालयका सबै विद्यार्थीको उपचार निःशुल्क हुने जानकारी दिएको राससले जनाएको छ।

‘विद्यार्थीको हितका लागि यो निर्णय गरिएको हो। आँबुखैरेनी अस्पतालमा उपचार गराउने पालिकाभित्रका स्कुले विद्यार्थीले पैसा तिर्नुपर्दैन,’ उनले भने।

आँबुखैरेनी स्वास्थ्यचौकीलाई २०७९ मंसिर १ गते १५ शय्यासहित अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । अस्पतालमा उपचारका लागि आँबुखैरेनीका अलावा तनहुँको बन्दीपुर, गोरखाको पालुङटार र सहिद लखन तथा चितवनको इच्छाकामनावासीहरु पुग्ने गरेका छन्।

गाउँपालिकाको शिक्षा समितिले निजी र सामुदायिक विद्यालय कसैले पनि पुनः भर्ना र वार्षिक शुल्क नलिने निर्णय पनि गरेको छ। निजी विद्यालयका प्रतिनिधिसहितको बैठकले यो निर्णय गरेको चुमानले बताए।