
राँझा (बाँके)। नेपालमा संकलित कबाडजन्य वस्तु अवैध रूपमा भारत निकासी भइरहँदा बाँकेका अण्डा क्यारेट र प्लाष्टिक उद्योगलाई कच्चा पदार्थ अभाव भइरहेको छ। कबाड (प्रयोग भएका कापी किताब, फलाम, टिन, प्लास्टिक, सिसी लगायतका वस्तु) दिनहुँ उल्लेख्य परिमानमा संकलन हुन्छ।
तर, करको दायरामा नपर्न व्यवसायीले अवैध रूपमा भारत निकासी गर्दा नेपाली उद्योग कच्चा पदार्थको अभावमा धरासायी बन्दै गएको बाँकेको बैजनाथ-१ को पश्चिमाञ्चल एग क्यारेट एण्ड फुड उद्योगका सञ्चालक पुनित शाहले बताए। ‘हामीलाई चाहिने आवश्यक कच्चा पदार्थ भारत तस्करी भएपछि उद्योग चलाउनै गाह्रो भएको छ। कच्चा पदार्थ अवैध रूपमा भारत गइरहे पनि नियामक निकायले चासो दिएको छैन,’ उनले भने, ‘कच्चा पदार्थको अभावमा उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसक्दा मजदुरले काम पाएका छैनन्, उद्योग धरासायी बन्दै गएको छ।’
५ रुपैयाँदेखि १० रुपैयाँ प्रतिकेजी भन्सारदर रहेको कबाडजन्य वस्तु दैनिक अवैध रूपमा भारततर्फ निकासी हुँदा सम्बन्धित निकायले एकअर्कालाई देखाउँदै नियमनबाट पन्छिँदा त्यसको असर नेपाली उद्योगलाई परिरहेको उनको भनाइ छ। ‘मेरो उद्योगलाई महिनामा १२० टन कच्चा पदार्थ चाहिन्छ तर अहिले त्यसको आधामात्रै पाउने गरेको छु। त्यसैले उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकेको छैन,’ सञ्चालक शाहले भन्नुभयो, ‘यो क्षेत्रमा संकलन हुने कबाडी अवैध रूपमा निर्यात नभए कच्चा पदार्थ पर्याप्त रूपमा उपलब्ध हुन्छ, तर यसमा राज्यका निकायले बेवास्ता गर्दै आएका छन्।’
बाँकेलगायत जिल्लामा संकलित कबाड वस्तु खरिद गरी उद्योगले राज्यलाई कर तिर्नुका साथै रोजगारीसमेत सृजना गरेको उनले बताए। कच्चा पदार्थ खरिद गर्न नपाएपछि उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको गुनासो छ।
प्रयोग भइसकेको कबाड फलाम नेपालमा नै खरिद हुने भए पनि अन्य कागजजन्य कापीकिताब, डप्टी, प्लाष्टिकजन्य वस्तु, व्याट्री, आल्मुनियमलगायत वस्तु भारत तस्करी हुँदै आएको छ। कबाड वस्तु निकासीमा प्रति केजी रु १० भन्सार राजस्व शुल्क भए पनि व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारततर्फ निकासी गर्ने गरेको पाइएको छ।
भारतीय उद्योगीले केही महँगो दरमा खरिद गर्ने भएकाले नेपाली कबाड व्यवसायीले भन्सार छलेर अवैध रूपमा निकासी गर्ने गरेका छन्। दैनिक साइकलबाट कबाडजन्य वस्तु भारत निकासी हुने गरेको छ। संकलित कबाडको ठूलो अंश बाहिरिने भएकाले यहाँका उद्योगले पुनः त्यही कवाड दोब्बर मूल्यमा आयात गर्नुपर्ने बाध्यता रहेको शाहको भनाइ छ।
कबाडसम्बन्धी वस्तुलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग भैरहवादेखि धनगढीसम्म सयभन्दा बढी छन्। बाँकेमा २० को हाराहारीमा कबाड व्यवसायी छन्। उनीहरूमध्ये कतिपयले बाँकेसँगै अन्य जिल्लाबाट कबाड संकलन गरी भण्डारण गरेर बेच्छन्। उनीहरुले कबाड भारत पठाउन थालेपछि सम्बद्ध उद्योगले कच्चा पदार्थ पाउन छाडेको कबाड व्यवसायी संग बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाईले बताए।
‘फलामजन्य कबाड भारतीय व्यापारीले दिने मूल्यमै यहाँस्थित अम्बे स्टिलले खरिद गर्ने गरेकाले भारत निकासी हुँदैन, अन्य कागजजन्य र प्लााष्टिकजन्य कवाडको मूल्य भारतमा बढी मिल्ने भएकाले निकासी हुने गरेको छ,’ उनले भने, ‘सबै व्यवसायी आफैंले भारत निकासी गर्दैनन्, भारतीय व्यापारीले कबाड संकलन गर्नेहरूसँग मिलेमतो गरी खरिद गर्ने गरेका छन्।’
रुपन्देहीको सियारी-४ मा प्लाष्टिकजन्य कबाड प्रशोधन गरी प्लाष्टिकको दाना बनाउने उद्योग अमुवा प्लाष्टिक इन्डस्ट्रिजका सञ्चालक हरिप्रसाद न्यौपानेले दैनिक आफ्नो उद्योगलाई सात टन कबाड आवश्यक रहे पनि अहिले एक टनमात्र पाउने गरेको बताए।
‘पश्चिमको भरमा थियौं, असोजपछि कबाड आउन छाडेको छ। कुनै महिना एक ट्रकसम्म आयो होला, यो अवस्थामा १५ दिनमात्रै मुस्किलले उद्योग चलाउन सकेका छौं,’ उनले भने, ‘हामीले नै कबाड पाउनु पर्छ भन्ने होइन, तर भारत निकासी गर्ने हो भने कर तिरेर मात्र लैजानु पर्छ, तस्करी रोकिनुपर्छ।’
भारतसँग ६५ किलोमिटर खुला सीमा रहेको बाँकेमा कबाड वस्तुको निकासीले राजस्व गुम्नुका साथै कच्चा पदार्थको रूपमा प्रयोग गर्ने बाँकेसहित विभिन्न जिल्लामा रहेका उद्योग धरासायी भएका छन्। नेपाल-भारत सीमाअन्तर्गत बाँकेको खडैचा, हिरमिनीया कालाबन्जार, जमुनाह, जयसपुर, पचपोखरा, साईगाउँ, बढैया, सैनिकलगायत सहायक नाका चोरी तस्करीका लागि प्रमुख मानिन्छन्। यी ठाउँमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल खटिएको छ।
सशस्त्र प्रहरी बल नं.३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालले कबाडजन्य वस्तुको अवैध रुपमा हुने चोरीनिकासी रोक्न प्रयासरत रहेको बताउँछन्। मुख्य सीमा नाकाबाट नभए पनि ग्रामीण नाकाबाट चोरी निकासी हुनसक्ने भएकाले नियन्त्रणको लागि आवश्यक निर्देशन दिएको उनले उल्लेख गरे।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले कबाडजन्य वस्तु चोरीनिकासी रोकथाम चुनौती रहेको बताए। मुख्य भन्सार नाकामा आउने कबाडजन्य वस्तु नियन्त्रणमा लिएर लिलाम गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘कबाडजन्य वस्तुको चोरी निकासी रोकथाम गर्न लाग्ने हो भने भन्सार कार्यालय नै कबाडखाना बन्ने स्थिति आउँछ। हामीले नियन्त्रणमा लिएको कबाडको लिलाम नेपाली उद्योगीले सकार्नुपर्छ। अन्यथा लिलाम नभएर कबाड भन्सारमा थन्किने र पुनः भारतीय व्यापारीले नै खरिद गर्ने स्थिति हुनुहुँदैन।’
नेपाली उद्योगीहरूको गुनासोलाई मध्यनजर गरेर कबाडजन्य वस्तुको चोरीनिकासी रोकथामका लागि भन्सार कर्मचारीलाई आवश्यक निर्देशन दिएको उनले बताए। रासस