
काठमाडौं । पछिल्लो दुई सातादेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भेगमा वायु प्रदूषण ह्वात्तै बढेको छ। वर्षा नहुँदा प्रदूषण कम हुने अवस्था देखिएको छैन।
आज पनि विश्वको सबैभन्दा प्रदूषित सहरमा काठमाडौं । काठमाडौंको वायुको गुणस्तर २६१ रहेको छ। यो निकै अस्वस्थकर मानिन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देखि काठमाडौं उपत्यका सहित केही भेगमा हल्का वर्षाको सम्भावना छ। जसकारण अहिलेको कुइरीमण्डलको अवस्थाबाट केही राहत मिल्ने सम्भावना छ।
आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले आजदेखि केही दिन हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। जसकारण अहिलेको ष्रदूषणको अवस्था कम हुने अनुमान गरिएको छ।