नारायणगढ-बुटवल सडकको ‘बोटल नेक’ बनेको दाउन्ने क्षेत्र, किन बन्द गरिंदैछ सवारी आवागमन?

शुक्र गिरी
२०८१ चैत्र २५ गते १२:१७ | Apr 7, 2025
नारायणगढ-बुटवल सडकको ‘बोटल नेक’ बनेको दाउन्ने क्षेत्र, किन बन्द गरिंदैछ सवारी आवागमन?
दाउन्नेको सडक


काठमाडौं। नारायणगढ-बुटवल सडक खण्ड स्तरोन्नतिमा खासगरी दाउन्ने क्षेत्रको १४ किलोमिटर सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ।

Tata
GBIME
NLIC

पहाडी क्षेत्रमा भिरालो जमिन, कमजोर माटो र पहिरोको उच्च जोखिमले दाउन्ने क्षेत्रको सडक विस्तार चुनौतीपूर्ण बनेको हो। नारायणगढ-बुटवल सडक आयोजनाको पश्चिम खण्डका प्रमुख शशांक मिश्रले दाउन्नेमा पनि खासगरी २ किलोमिटर क्षेत्र काम गर्न निक्कै अप्ठेरो रहेको बताए।

‘दाउन्ने क्षेत्रमा पहरो कटिङ गरेपछि मात्रै सडक फराकिलो बनाउन सकिन्छ। कटिङ गर्न धेरै कुरा ख्याल गर्नुपर्छ,’ मिश्रले भने, ‘नारायणगढ-बुटवल खण्डको धेरै ठाउँमा धमाधम कालोपत्रे भइरहेको छ। तर, दाउन्ने क्षेत्रमा भने हामीले भौगोलिकरुपमै अप्ठेरो ठाउँ भएकाले सोचे अनुसार काम गर्न सकिरहेका छैनौं।’

दाउन्नेको सडक

दाउन्ने क्षेत्रमा अहिले पहरो कटिङको काम भइरहेको छ। २ किलोमिटर निक्कै अप्ठेरो ठाउँ भएकाले त्यहाँ मात्र पहरो कटिङ गर्न १५ दिन लाग्ने अनुमान छ।

एकातिर पहरोका कारण कटिङ गर्न समस्या र अर्कातिर साँघुरो सडकमा सवारीसाधन पास गराएर काम गर्नु परेकाले दाउन्ने क्षेत्रको स्तरोन्नति सुस्त भएको छ।

दाउन्ने क्षेत्रमा पहाड कटान गरिँदै

१४ किलोमिटर खण्डमा १०३ वटा कल्भर्ट र पुल निर्माणाधीन अवस्थामा छन्। कल्भर्ट र पुल निर्माणका लागि खनिएका ठूल्ठूला खाल्डाका कारण दिनहुँ सवारीसाधनको जाम हुने गरेको छ।

गत वर्षामा बाढीले पुल बगाएका कारण पनि दाउन्ने क्षेत्रको यात्रा सकसपूर्ण बनेको हो। पुलको विकल्पमा डाइभर्सन सवारीसाधन ओहोदोहोर गराउने काम भइरहेको छ।

दुईतर्फीरुपमा दैनिक १८ हजार गाडी ओहोरदोहोर गर्ने दाउन्ने क्षेत्र पार गर्नै ५ घण्टासम्म लाग्ने गरेको छ। एम्बुलेन्सलाई नै डेढ घण्टा लाग्छ। दाउन्नेको सकसले यो सडक खण्डको अन्य क्षेत्रको कालोपत्रे नै अर्थहीन बन्न गएको छ।

काम गर्न आवागमन बन्द

जनप्रतिनिधि, स्थानीय प्रशासन र आयोजनाका अधिकारी शनिबार दाउन्ने क्षेत्रको निरीक्षण गरी साँघुरो सडकमा सवारीसाधनको आवतजावतले काममा व्यवधान खडा भएको निष्कर्षसहित आवागमन नै बन्द गर्ने निर्णयमा पुगेका छन्।

दाउन्नेको सडक

जनप्रतिनिधि र स्थानीय प्रशासनसँगको छलफलका आधारमा सडक विभागको आयोजना निर्देशनालयले पहिलो चरणमा चैत २७ देखि ३१ गतेसम्म र दोस्रो चरणमा वैशाख १ देखि १५ गतेसम्म आवागमन बन्द गर्ने सूचना निकालेको छ।

सडक विस्तारको कामलाई तीव्रता दिन समय तोकेर आवागमन रोक्ने निर्णय गरेको नारायणगढ-बुटवल सडक आयोजनाको पश्चिम खण्डका प्रमुख मिश्रले बताए। ‘साँघुरो सडकमा अहिले यात्रुले पनि सकस पाइरहेका छन्। हामीलाई काम गर्न पनि व्यवधान पुगिरहेको छ। त्यसैले फटाफट काम गर्ने उद्देश्यसहित सवारी आवागमन नै बन्द गर्ने निर्णय गरिएको हो,’ उनले भने।

चैत २७ बाट ३१ सम्म बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिनेछ। यस्तै वैशाख १ बाट १५ सम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन आवतजावतमा रोक लगाइनेछ।

मिश्रका अनुसार पहिलो चरणमा सडकका खाल्डाखुल्डी पुर्ने, हिंलो फाल्ने र धुलोमा पानी हाल्ने काम गरिन्छ। वैशाख लागेपछि भने कटिङलाई तीव्रता दिइनेछ। दाउन्ने क्षेत्रमा एक महिनामा कटिङ सक्ने आयोजनाको तयारी छ। कटिङ गरेपछि सडक फराकिलो भइ सवारीसाधनलाई दुईतर्फीरुपमा ओहोरदोहोर गर्न सहज हुनेछ।

दाउन्नेको सडक

आयोजनाले मंसिरमा नै समय तोकेर निश्चित अवधि सडक बन्द गर्न माग गरेको थियो।

‘हामीले बाटो बन्द गरेपछि मात्रै यो खण्डमा राम्रोसँग काम गर्न सकिन्छ भनेर मंसिरमा नै जानकारी गराएका थियौं। तर माथिल्लो निकायले चासो दिएन। अहिले जनप्रतिनिधि र स्थानीय प्रशासनले निरीक्षण गरेपछि आवागमन बन्द गराउन सहमति जुटेको हो,’ मिश्रले भने, ‘ढिलै भएपनि हाम्रो कुरा सुनिएको छ। हामी वैशाखसम्म सडक फराकिलो पार्छौं।’

दाउन्नेको सडक

कटिङ सकिएपछि दाउन्नेको मिल्ने ठाउँमा कालोपत्रे र नमिल्ने ठाउँमा ग्राबेल हालेर यात्रा सहज बनाउने आयोजनाको तयारी छ।

तर, योजना अनुसार काम गर्न चुकेको अवस्थामा दाउन्ने क्षेत्रको यात्रा झनै कष्टकर हुनेछ। किनभने जेठ तेस्रो सातापछि वर्षायाम सुरु हुन्छ।

दाउन्नेको सडक