
काठमाडौं। हिमालय एयरलाइन्सले पोखरामा सोमबारबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ।
कम्पनीले ल्हासा-पोखरा-ल्हासा नियमित उडान गर्ने भएको हो। कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा साताको एउटा उडान गर्ने अनुमति पाएको छ।
विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार हिमालयको एयरबस-३१९ सिरिजको जहाज सोमबार १२: ४५ मा पोखरामा अवतरण गर्नेछ। जहाजले मंगलबार बिहान ८:२० मा ल्हासा उडान गर्नेछ।
कम्पनीले पोखरा-ल्हासा उडानका लागि ३५,१९६ रुपैयाँ र ल्हासा-पोखराका लागि २७,९७० रुपैयाँ भाडा निर्धारण गरेको छ। कम्पनीका अनुसार यात्रुले ५४,९७५ रुपैयाँमा पोखरा-ल्हासा-पोखरा दुईतर्फी उडान सेवा लिन सक्नेछन्। यस्तै ५१,०३७ रुपैयाँमा ल्हासा-पोखरा-ल्हासा उडान सेवा पाउनेछन्।
कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नियमित उडानका लागि सबै व्यवस्थापन भइसकेको जानकारी दिए।
‘हामीले भोलिबाट ल्हासा-पोखरा-ल्हासा उडान गर्दैछौं। पोखराबाट पहिलोपटक गर्न लागिएको नियमित उडानका लागि सबै व्यवस्थापन गरिसकेका छौं,’ उनले भने।
हिमालयले काठमाडौं-ल्हासातर्फ साताको ४ दिन नियमित उडान गर्दै आएको छ।
पोखरा विमानस्थलमा चीनको सिचुवान एयरले साताको एउटा व्यावसायिक चार्टर्ड उडान गर्दै आएको छ।