सुरक्षा निकायले कमजोर आँक्दा राजा फर्काउने प्रदर्शन अराजक, सरकारले कहाँ गर्‍यो ब्लन्डर ?

सविन ढकाल
२०८१ चैत्र १५ गते १९:०४ | Mar 28, 2025
सुरक्षा निकायले कमजोर आँक्दा राजा फर्काउने प्रदर्शन अराजक, सरकारले कहाँ गर्‍यो ब्लन्डर ?


काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउन भन्दै दुर्गा प्रसाइँ समूहले गरेको प्रदर्शन सुरक्षा निकायले कमजोर आँक्दा अराजक बनेको छ।

Tata
GBIME
NLIC

सुरक्षा परिषद्‍को बैठकमा प्रसाइँको नेतृत्वमा हुने तय भएको प्रदर्शनलाई लिएर छलफल भएपनि सुरक्षा निकायले गम्भीरता देखाएन।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै प्रदर्शनलाई कमजोर आँकेका थिए। उनले प्रदर्शनमा केही हजार आउने भन्दै महत्व दिन आवश्यक नरहेको भनेर आक्रामक बनाउने वातावरण बनाइदिएका थिए।

प्रदर्शनकारी ओलीको अभिव्यक्तिले मात्र आक्रोशित भएका होइनन्, सरकारबाट भएका केही ब्लन्डर निर्णयले पनि उनीहरुलाई अराजक बनाएको हो।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कार्यकाल चार महिना बाँकी छँदा हटाउने निर्णयले जनआक्रोश बढाएको थियो। राजनीतिक नेतृत्वप्रतिको आक्रोशमा टेकेर प्रदर्शन गर्न राजावादीहरुले महिना दिनदेखि नै तयारी गरिरहेका थिए।

ज्ञानेन्द्रको पक्षमा तीनकुनेमा सभा गर्ने भनिएकामा प्रदर्शनकारीहरु निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा उत्रिए। तीनकुनेमा सभा सुरु नहुँदै अराजक समूहले निजी घरमा तोडफोड र आगजनी गरेकामा प्रहरीले अराजक भिडलाई नियन्त्रणमा लिनै सकेन।

दिउँसो ३ बजेसम्म तीनकुने क्षेत्रको अवस्था मात्र तनावपूर्ण रहेकामा त्यसपछि प्रदर्शनकारी चारैतिर लागे। अराजक समूह तीनकुनेबाट बागमती किनारमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय पुग्यो। प्रदर्शनकारीहरुले पार्टी कार्यालयभित्र छिरेर आगलागी गरे। त्यहाँ प्रहरीको उपस्थित देखिएन।

प्रदर्शनकारी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पुगे। त्यहाँ पनि आगजनी भयो।

कोटेश्वर पेरिस डाँडामा निजी सवारीसाधनमा आगलागी भयो। कोटेश्वरमै रहेको भाटभटेनी सुपरमार्केटमा प्रदर्शनकारीले लुटपाट मच्चाए। प्रहरीले समयमा नै सूचना सङ्कलन नगर्दा तथा सडकमा फितलो उपस्थितिका कारण क्षति धेरै हुन पुग्यो।

प्रदर्शनमा राजावादी मात्र उपस्थित हुने आँकलन गरेर सुरक्षा रणनीति बनाउँदा क्षति बढी बेहोर्नु परेको पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

‘सुरक्षा निकायबाट गलत आँकलन भयो। फागुन २५ गतेको उपस्थितिलाई हेरेर सुरक्षा रणनीति बनाउनुपर्ने हो। तर जनआक्रोशलाई बेवास्ता गर्दा अराजकता मच्चियो,’ पूर्वडीआइजी हेमन्त मल्ल ठकुरीले भने।

गृह मन्त्रालयले पनि प्रदर्शनलाई कमजोर आँक्दा धेरै क्षति हुन पुगेको स्वीकार गरेको छ। मन्त्रालयका सहसचिव छवि रिजालले राजनीतिक प्रदर्शनले अराजक रुप लेला भनेर कल्पनै नगरेको बताए।

‘हामीले अराजक गतिविधिको कल्पना गरेका थिएनौं। त्यही अनुसार सुरक्षाकर्मी परिचालन गरेका थियौं,’ उनले भने, ‘तर हामीले सोचेविपरीत प्रदर्शनले हिंसात्मक रुप लियो। जसले गर्दा हामीलाई सम्हाल्न गाह्रो भयो।’

फागुन १ गतेको झल्को दिने घटना

शुक्रबारको प्रदर्शनले २०७९ फागुन १ गतेको झल्को दियो। त्यतिखेर विभिन्न माग राख्दै यातायात मजदुरले गरेको प्रदर्शन यस्तै अराजक बनेको थियो। जसमा प्रहरीको कमान्ड कन्ट्रोल कमजोर भएको निष्कर्ष निकालिएको थियो।

त्यतिखेर प्रहरीको भ्यान समेत प्रदर्शनकारीले आगजनी गरेका थिए। त्यस्तै गोङ्गबुमा रहेको ल्होत्से मलमा छिरेर तोडफोड र मोबाइल चोरी भएको थियो।

शुक्रबार कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा त्यस्तै दृष्य देखियो। प्रदर्शनकारीले भाटभटेनीमा पार्किङमा राखिएको गाडी तोडफोड गर्नुका साथै सामान लुटेर लगे।

‘प्रहरीले पञ्चेको मात्र आन्दोलन भन्ने सोच्यो। जनताको आक्रोश कति बढेको छ भन्ने बुझेन। सरकारकै केही निर्णयले पनि जनतामा आक्रोश थपेको छ। त्यही आक्रोश सडकमा पोखिएको हो,’ ठकुरीले भने।