विभाग एक्सनमा उत्रिँदा सिमेन्ट बोराको १५ देखि २५ रुपैयाँ सस्तियो, छडमा पनि घट्ने संकेत

अनन्तराज न्यौपाने
२०८१ चैत्र १८ गते १०:०५ | Mar 31, 2025
विभाग एक्सनमा उत्रिँदा सिमेन्ट बोराको १५ देखि २५ रुपैयाँ सस्तियो, छडमा पनि घट्ने संकेत


विराटनगर। पूर्वका उद्योगले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँले घटाएका छन् भने फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने तयारी तयारी गरिरहेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि निर्माणसामग्रीका सिमेन्ट उद्योगले मूल्य घटाएका र कुनैले घटाउने तयारी गरिरहेका हुन्।

Tata
GBIME

सिमेन्ट र फलामे छडको मूल्यमा कार्टेलिङ गरेर मूल्यवृद्धि गरिएको भन्दै सर्वत्र विरोध सुरु भएपछि विभागले कारबाही आरम्भ गरेको हो। विभागका महानिर्देशक कुमार दाहालका अनुसार विभागले देशभरिका ठुला स्टिल र फलाम उद्योगलाई पत्राचार गर्दै आफ्नो उत्पादन लागतको विवरण स्पष्ट खुलाएर जानकारी गराउन भनेको छ।

विभागको पत्र पाएलगत्तै सिमेन्ट उद्योगले मूल्य घटाएका हुन् भने स्टिल उद्योग छलफलकै क्रममा रहेको बताइएको छ।महानिर्देशक दाहालले बिजमाण्डूसित भने, ‘कुन हो मूल्य? अहिले त मूल्य नै नभएको जस्तो भइसक्यो। अहिले मूल्य नै छैन भन्दा पनि हुन्छ। जति राखिदिए पनि हुने भएको छ। त्यसैले हामीले उत्पादन लागतको विवरण मागेका हौँ।’

पूर्वका ६ वटा स्टिल उद्योगबाट उत्पादन लागतको विवरण आइसकेको जानकारी उनले दिए। विभागले भैरहवा र वीरगंज क्षेत्रका स्टिल उद्योगमा पनि उत्पादन लागतको विवरण पठाइदिन पत्राचार गरेको उनको भनाइ छ। त्यस्तै ५ वटा सिमेन्ट उद्योगले पनि विभागमा यस्तो विवरण दर्ता गराइसकेका छन्।

‘मूल्यवृद्धि किन गरियो भनेर हामी सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौं। हामी वाणिज्यलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय हौँ। त्यसैले उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ,’ उनले भने।
देशभरिका सबै उद्योगलाई यही चैत २० गतेभित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा बिक्री मूल्य (एमआरपी) अंकित गर्न निर्देशन दिएको पनि उनले स्पष्ट पारे।

दाहालको भनाइ थियो, ‘चैत २१ देखि हाम्रो कडा अनुगमन हुनेछ। एमआरपी नलेखिएका सबै वस्तु हामीले बरामद गरेर तिनका उत्पादकलाई कारबाही चलाउने छौं।’ सिमेन्ट र फलामे छडमा पनि एमआरपी नलेख्ने गरेको तथ्य विभागले चाल पाएको र चैत २० देखि यसलाई अनिवार्य गर्न निर्देशन दिएको जानकारी उनले दिए।

विराटनगरको निरौला हार्डवेयरका सञ्चालक अनन्त निरौलाका अनुसार उनलाई एक सिमेन्ट उद्योगले आइतबारदेखि बोराको २५ र अर्कोले १५ रुपैयाँ घटेर पठाउन थालेका छन्। फलामे छड उद्योगले मूल्य घट्ने संकेत मात्र गरेका छन्।

सिमेन्ट उद्योगले मंसिरयता पटकपटक गरी बोराको २४० रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन्। त्यस्तै स्टिल उद्योगले फलामे छडमा फागुन २५ यता भ्याटबाहेक किलोमा १२ देखि १८ रुपैयाँ मूल्यवृद्धि गरिसकेका छन्। स्टिल उद्योगले त बिक्रीका लागि कार्टेलिङमा मूल्यवृद्धि मात्र गरेका छैनन्, कच्चा पदार्थ स्क्रयापको खरिदमा पनि कार्टेलिङ गर्दै आएका छन्।

स्क्रयापका बिक्रेताको एक मात्र बजार स्टिल उद्योग नै भएको फाइदा उठाउँदै उद्योगीले मिलेमतो गरेर स्क्रयापको मूल्य घटाएका हुन्। सामान्यतया तयारी वस्तुको मूल्य बढ्दा कच्चा पदार्थको पनि बढ्ने बजारको सामान्य सिद्धान्तअनुसार फलामे छडको मूल्य अचाक्ली वृद्धि हुँदा स्क्रयापको पनि त्यही अनुपातमा बढ्नु पर्ने थियो तर स्टिल उद्योगले स्क्रयापको मूल्य किलोमा ६ रुपैयाँले घटाएका छन्।

स्टिल उद्योगले किलोको ५८ मा खरिद गर्दै आएको फलामे स्क्रयापलाई ५२ रुपैया मात्र दिन थालेका छन्। यसबाट तिनको उत्पादन लागत अझ सस्तो भएको छ र सिमेन्ट उद्योगभन्दा स्टिल उद्योग दोहोरो फाइदामा पुगेका छन्।

यसबिच उपभोक्तावादी संघसंस्था, निर्माण व्यवसायी महासंघ लगायतका विभिन्न निकायले सिमेन्ट र फलामे छडमा कार्टेलिङ भएको भन्दै लगातार विरोध गरिरहेका छन्।