देश फेरि लोडसेडिङमा फर्किने जोखिम, माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा कर्मचारीकै असहयोग

जनक वली
२०८१ चैत्र १२ गते १८:५७ | Mar 25, 2025
देश फेरि लोडसेडिङमा फर्किने जोखिम, माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा कर्मचारीकै असहयोग


काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकै बेला देश फेरि लोडसेडिङको अवस्थामा फर्किने जोखिम देखिएको छ।

Tata
GBIME
NLIC

देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारी उत्पादन नै ठप्प पार्ने भन्दै विरोधमा उत्रिएपछि लोडसेडिङको जोखिम निम्तिएको हो। कर्मचारीले बुधबारबाट उत्पादन ठप्प पार्ने चेतावनी दिएका छन्।

हिउँद लागेपछि नदीमा पानीको सतह घट्दा विद्युत उत्पादन एक तिहाइमा सीमित भएको अवस्थामा माथिल्लो तामाकोशी अहिले पिक समयमा पूर्ण क्षमतामा चलिरहेको छ। माथिल्लो तामाकोशीकै कारण अहिले लोडसेडिङ रोकिएको छ।

भारतले चैत ३ देखि सोलार आवरबाहेक समयमा बिजुली दिएको छैन। पिक आवरमा पावर एक्सचेन्ज कमिटी (पीइसी)मार्फत दिंदै आएको विद्युत पनि भारतले कारण नखुलाइ रोकेको छ। जसले गर्दा प्राधिकरणलाई अहिले लोड व्यवस्थापन गर्न निक्कै धौधौ परिरहेको छ।

‘माग धान्नका लागि अहिले निक्कै सकसपूर्ण अवस्था छ। यस्तो बेला हाम्रो आयोजनाको उत्पादन रोकियो भने धेरैतिर अन्धकार हुन्छ,’ आयोजना स्रोतले भन्यो।

आयोजनामा १९८ जना कर्मचारी कार्यरत रहेकामा १०३ जना दोलखाका हुन्। उनीहरुले सेवा सुविधा समान हुनुपर्ने माग राख्दै आइतबारदेखि नै काम प्रभावित पारेका छन्।

‘आयोजनामा कार्यरत दोलाखाका कर्मचारीले आइतबारदेखि नै काम गरिरहेका छैनन्। उनीहरुले भत्ता अरु कर्मचारीसरह ७५ प्रतिशत चाहियो भनिरहेका छन्। तर, कम्पनीको बोर्ड बैठक बस्न नसकेर निर्णय हुन सकेको छैन। यहीबेला सरकारले कम्पनीका अध्यक्ष रहेका कुलमान सरलाई हटाएको छ। उहाँको ठाउँमा नियुक्त गरिएका हितेन्द्र शाक्यले हाजिर गर्नै बाँकी छ। त्यसैले उत्पादन नै बन्द भएर लोडसेडिङ हुने जोखिम देखिएको छ,’ आयोजनाका एक उच्च कर्मचारीले भने।

विरोधमा उत्रिएका कर्मचारीले ५० प्रतिशत भत्ता पाउँदै आएका छन्। उनीहरुसँग कम्पनी व्यवस्थापनले गत असोजमा माग पूरा गर्ने सहमति गरेको थियो। सहमति कार्यान्वयन नभएका कारण दोलखाका स्थानीय कर्मचारीले गाडी चलाउन रोकेका छन् भने आफ्नो जिम्माको अरु काम पनि गरेका छैनन्। उनीहरुले माग पूरा नभए बुधबारदेखि पावर हाउन चल्न नदिने चेतावनी दिएका छन्।

वार्तामा व्यवस्थापन र कर्मचारी

कर्मचारीहरु आफ्नो माग पूरा गराउनका लागि दबाबस्वरुप काम छोडेर काठमाडौं आएका छन्। उनीहरु कम्पनीको व्यवस्थापनसँग वार्तामा छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले कर्मचारीको मागलाई लिएर वार्ता भइरहेको भन्दै बुधबारसम्म काममा फर्काउन सहमति गर्ने बताए।

‘कर्मचारी सेवासुविधालाई लिएर विरोधमा छन्। त्यसैले हामीले उनीहरुलाई काठमाडौं बोलाएर निरन्तर छलफल गरिरहेका छौं। ढुक्क हुनुस् हामी कुरा मिलाउँछौं। पावरहाउस बन्द हुने अवस्था आउन दिने छैनौं,’ गौतमले भने।