
काठमाडौं। कहिलेकाहीँ जीवनका अप्रत्याशित मोडहरूले नै वास्तविक गन्तव्यतिर डोर्याउँछन्। यो कथा हो- एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको।
अमृत साइन्स क्याम्पसमा विद्यार्थीहरू भौतिकशास्त्रका रहस्यहरूको पर्दा उठाउन व्यस्त भएका बेला एक किशोर चुपचाप कुनामा बसेर भ्यागुताको काया र बोटबिरुवाको शिराहरु अध्ययन गर्दै थियो।
हातमा कम्पन, मन द्विविधाग्रस्त। एसएलसीमा उत्कृष्ट नतिजा प्राप्त गरेकै कारण परिवारको अपेक्षा र समाजको दबाबले उसलाई विज्ञानको संसारमा धकेलेको थियो। तर, मन विज्ञानमा रमाउन सकेको थिएन।
बीएस्सीको अन्तिम वर्ष नजिकिँदै गर्दा एउटा विज्ञापनमा नजर अड्कियो।
क्वान्टम फिजिक्सको जटिल समीकरणहरूभन्दा पर उसले आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण समीकरण फेला पार्यो- बैंकिङ।
आज, सुनिल केसी एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकाबाट बिदा हुँदै गर्दा उनले अनवरत बिताएको ३५ वर्ष लामो बैंकिङ इतिहास एक स्वर्णिम अध्यायको रूपमा दर्ता भएको छ।

बैंकर्स संघको अध्यक्ष, चार पटकको राष्ट्रिय र एक पटकको एसियाली ‘बैंकर अफ द इयर’ सम्मानहरू- यी सबै त्यही व्यक्तिको उपलब्धी हुन्, जसका औंलाहरू कहिले भ्यागुताको शरीर चिर्न हिचकिचाउँथे।
उनलाई विज्ञान विषय अध्ययन गर्दा क्वान्टम फिजिक्स, थर्मोडायनामिक्स र कुनै पनि अवरोधको बाबजुद अघि बढ्ने प्रतिबद्धताको बारेमा सिक्ने अवसर मिल्यो।
‘तर, जुन कुरा मैले सिकेकै थिइँन अर्थात डेबिट क्रेडिट त्यसले चाहिँ मलाई उच्च तहसम्मै पुर्यायो,’ केसी सम्झन्छन्।
१९९० को दशकमा जब नेपालमा निजी क्षेत्रका बैंकहरु खुल्न थाले त्यसले आकर्षक रोजगारीको अवसर मात्र दिएन, त्यो ‘एक्सप्लोर’ हुने मौका पनि थियो। ग्रिन्डलेज बैंक (अहिले स्ट्यान्डर्ड चार्टर्ड) ले सहायक स्तरको पदका लागि आवेदन माग्यो। बीएस्सी पढिरहेका केसीले त्यो अवसर समात्ने निर्णय गरे, विज्ञानलाई पछाडि छाडेर सुरु भयो नयाँ यात्रा।
‘डेबिट/क्रेडिट थाहा थिएन। एकाउन्ट नपढेको मान्छे,’ उनी भन्छन्। तैपनि, उनको तार्किक सोच र गणितीय क्षमताले अन्तर्वार्ता लिनेहरुलाई छाप छाड्यो। जानेमानेका बैंकर शशिन जोशीलगायतले उनलाई प्रश्न सोधेका थिए त्यसबखत।
‘क्यालकुलेटर नराखीकन ९९ लाई ९९ ले गुणन गर्दा कति हुन्छ भनेर सोध्दा ९८०१ भनेको याद छ। यता प्रश्नहरु ५/६ चरणमै सोधिएको थियो होला। उनीहरु क्यालकुलेटर राखेर मैले भनेको उत्तर मिल्यो/मिलेन भनेर हेर्थे, आफू दिमागमै हिसाब गरेर बताइदिन्थेँ,’ केसीले सुनाए।

सुरुवाती तलब १७५० रुपैयाँ। काम राम्रो हुँदा अतिरिक्त बोनस। समाजमा गाडी चढेर हिँड्न पाइने रोजगारी बिरलै पाइने त्यसबेला बैंकिङ ग्ल्यामरले केसीलाई पनि छोप्यो। बैंकिङमा छिरेपछि केसीले महसुस गरे कि आफ्नो वास्तविक रुचि फेला पर्यो।
‘बैंकिङ क्षेत्रमा छिरेपछि नै मलाई रमाइलो लाग्यो। ग्राहकसँग कुराकानी गर्न रमाइलो लाग्ने। सिक्न मन पराउने स्वभाव थियो,’ उनले भने।
सुरुवातमै उनले ट्रेड फाइनान्स विभागमा काम गर्ने अवसर पाए। रातरातभर काम हुन्थ्यो। त्यसबेला नेपालको कार्पेट र गार्मेन्ट उद्योगको ‘बुम इरा’ थियो। सरकारी बैंकको काम गराइबाट थाकेका उद्यमीहरु अन्तर्राष्ट्रिय बैंकमा आउँदा उच्चकोटीको सेवा पाउँथे।
‘हाम्रोमा प्रोफेसनल सेटअप थियो। आजको काम आजै सकाउने भन्ने हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘त्यसैले राति २ बजेसम्म पनि काम गर्थ्यौं। सिक्ने हुटहुटी हुन्थ्यो। ग्राहकले पनि छिटो सेवा पाउँदा खुसी व्यक्त गर्थे।’
अहिलेको बैंकिङ नि ! ‘अहिले चै जनरल्ली काम गर्यो ‘आउटकम’ के भन्दा काम सकियो भन्ने हुन्छ। त्यो बेला हामीले काम गरेको कामको इम्प्याक्ट के भन्ने सम्मको थाहा भएर काम हुन्थ्यो।’

२००१ मा ग्रिन्डलेज बैंकलाई स्ट्यान्डर्ड चार्टर्डले अधिग्रहण गरेपछि केसीलाई संस्था फेर्न मन लाग्यो। चार्टर्डमा वर्षौदेखि आफ्नो मेन्टर रहेका शशिन जोशी एनआइसी (अहिलेको एनआइसी एसिया) को प्रमुख कार्यकारी अधिकृत भएर गए। उनीसँगै केसी पनि गए। तर, त्यहाँ मन लामो समयसम्म अडिएन। उनी स्ट्यान्डर्ड चार्टर्डमै फर्किए, जहाँ उनले २००७/८ सम्म काम गरे।
चार्टर्डमा फर्किएपछि पनि पहिलेजस्तो मन रमाइरहेको थिएन। के नपुगे-नपुगेजस्तो भइरहेको थियो।
अन्तर्राष्ट्रिय मापदण्ड, जुन चार्टर्डको जस्तो र स्थानीय बैंकिङ (माटो सुहाउँदो) को फ्युजन गरेर बैंकिङ गर्ने रहर उनमा आएको थियो। यही सोचका साथ उनी एनएमबि बैंकमा सामेल भए जब यो ‘ग’ वर्गबाट ‘क’ वर्गमा जाने प्रक्रियामा थियो।
‘अन्तर्राष्ट्रिय गभर्नेन्स होस् र लोकल लेभलको बैंक पनि होस् भन्ने चाहेको थिएँ। त्यस्तै संस्था एनएमबि बनाउने भनेर यसमा आबद्ध भएँ,’ उनले भने।
एनएमबि बैंकमा १७ वर्षको यात्रामा, केसीले ९ वर्ष डेपुटी सीइओ र ८ वर्ष सीइओको रूपमा बिताइसकेका छन्। उनको नेतृत्वमा, बैंक अविश्वसनीय रूपमा विकास भएको छ। एक शाखा भएको फाइनान्स कम्पनीबाट २५० अर्बको बैंकमा परिणत भयो।

‘हामीले सुरुवात गर्दा सोचेको कुरा अहिले भइरहेको छ,’ उनी गर्वका साथ भन्छन्, ‘ग्रामीण अर्थतन्त्रलाई बढावा दिने, विदेशी पुँजी र लगानी पनि गर्ने भन्ने सोचेका थियौं।’ बैंकले अर्थतन्त्रको तल्लो तहसम्म पहुँच बढाउनुका साथै पाँच वटा मर्जर गरेको छ र लगातार चार वर्षसम्म ‘बैंक अफ दि इयर’ को उपाधि जितेको छ।
केसीको सबैभन्दा ठूलो चुनौती भनेको कोभिड-१९ महामारीको समयमा बैंकको नेतृत्व गर्नु थियो। ‘बिजिनेस लकडाउन थियो। भएको व्यवसाय जोगाएर जाने भन्ने भयो,’ कर्मचारीलाई प्राथमिकतामा राख्दै उनले अक्सिजन र चिकित्सा सहायता उपलब्ध गराएको सम्झँदै भने, ‘स्टाफले गर्दा बिजिनेस हुने हो त्यसलाई महत्त्व दियौं।’
यस अवधिमा एनएमबि बैंकले न केबल नेपालमा एसियामै ‘बैंक अफ दि इयर’ को सम्मान प्राप्त गर्यो। जुन असाधारण उपलब्धी हो।
लामो बैंकिङपछि केसीको स्वमूल्यांकन के हो त- ‘मैले जहिले पनि के गरेँ भने सधैं काम नै गरिरहेँ। मान्छेहरुलाई जहिले विश्वासमा लिएर काम गरेँ,’ उनी भन्छन्।
उनको नेतृत्व शैली सरल छ- ‘सबैको कुरा सुन्ने, तर निर्णय आफैं गर्ने। जोखिम चाहिँ जहिले लिनु पर्छ भन्ने लाग्यो। यो जोखिममा पार गर्छु भन्ने नै लाग्यो।’

अब केसी आफ्नो करियरको नयाँ अध्याय हेर्दैछन्।
‘म खाली त बस्दिन,’ उनी भन्छन्। तर उनीसँग कुनै निश्चित योजना पनि छैन।
‘पहिले पनि प्लान गरेर छिरेको होइन र अहिले पनि के गर्ने भन्ने प्लान छैन,’ उनी जवाफ प्रष्ट छ।
आर्थिक प्रतिफल भन्दा बढी अब केसी प्रभाव सिर्जना गर्ने कामहरू खोज्दैछन्। ‘मैले गर्ने कामले इम्प्याक्ट क्रिएट गर्नु पर्यो पैसालाई कम प्रायोरिटीमा राखेर बढ्दिन,’ उनी भन्छन्।
बैंकिङमै रहने वा नयाँ क्षेत्रमा जाने? केसी दुवै विकल्पका लागि खुला छन्। जुन पदमा बसेर परिवर्तन ल्याउन सकिन्छ, अहिलेको समस्याको समाधान दिनसक्ने जुनसुकै खालको कामका लागि केसी तयार भएको बताउँछन्।