
काठमाडौं। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन दुई अध्यक्षबाहेक १२ जना कर्मचारीलाई सफाइ दिएको छ।
जसमध्ये प्राधिकरणको वरिष्ठ निर्देशकबाट आनन्दराज खनाल निवृत्त भइसकेका छन् भने बाँकी ११ जना बहालवाला कर्मचारी हुन्। अदालतले १२ जना कर्मचारीलाई तीनवटा मुख्य आधार देखाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पुष्टि नहुने भन्दै सफाइ दिएको छ।
अदालतले १२ जना कर्मचारीलाई आफूभन्दा माथिल्लो पदाधिकारीले गरेको निर्णयलाई कार्यान्वयनका लागि पदीय कर्तव्य पालना गरेकाले दोषी ठहर नहुने फैसला गरेको छ। उनीहरुले व्यक्तिगत हैसियतमा कुनै निर्णय नगरेको फैसलामा लेखिएको छ।
ती कर्मचारीले तोकिएको संयन्त्र र समितिमा रहेर तथ्यको विश्लेषण गरी कानुनअनुसार टिप्पणी उठाएर प्रतिवेदन बनाउनेसम्म मात्रै भूमिका रहेको अदालतले औंल्याएको छ। तर, खरिद प्रक्रियअन्तर्गत परामर्शदाता छनोटमा ती कर्मचारीहरुको निर्णायक भूमिका नरहेको ठहर अदालतको छ।
पूर्व वरिष्ठ निर्देशक खनालबाहेक तीनजना निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्रलाल हाडा र मिनप्रसाद अर्यालले सफाइ पाएका छन्। यस्तै, उपनिर्देशकहरु अच्युतानन्द मिश्र, रेवती राम पन्थ, सन्दिप अधिकारी, बिनोद चन्द्र श्रेष्ठ र सूर्यप्रसाद लामिछानेले सफाइ पाएका छन्।
त्यसैगरी, सहायक निर्देशकहरु प्रतिक्षा पौडेल, विजय कुमार राय यादव र निराजन कोइरालाले पनि सफाइ पाएका छन्।