विदेशबाट फर्किएकाले गरेको उद्यमले दिन्छ उत्साह, बेल्जियममा हुर्किएका सुशीलले सम्हालेको रुपाकोट

वसन्तराज उप्रेती
२०८१ फागुन १८ गते ०९:१४ | Mar 2, 2025
विदेशबाट फर्किएकाले गरेको उद्यमले दिन्छ उत्साह, बेल्जियममा हुर्किएका सुशीलले सम्हालेको रुपाकोट


काठमाडौं। पुष्प अधिकारीले नेपाल छाडेर विदेश भासिने सोच बनाइरहँदा छोरा सुशील जन्मिएको केही महिना मात्रै भएको थियो। सन्तानका लागि देश नै छाड्ने निर्णय लिन उनलाई त्यति सहज भएन। देशमै काम गर्ने हुटहुटी थियो। तर, सामाजिक र आर्थिक परिस्थितिले उनलाई बेल्जियम पुर्‍यायो ३ दशकअघि।

Tata
GBIME
NLIC

बेल्जियममा राम्रै कमाइ थियो। आर्थिक रुपमा कुनै समस्या थिएन। तर, उनलाई देशमै फर्किन मन लाग्यो। उनी आफ्नै देशमा काम गर्ने निधो सहित सुशील ६ वर्षको हुँदा छोरालाई लिएर नेपाल फर्किए।

नेपाल-बेल्जियम आउजाउ भइरह्यो। सोल्टी होटलमा ओबेरोयको व्यवस्थापन रहँदा पुष्पले त्यहाँ काम गरे। आफैं रेष्टुरेन्ट व्यवसाय पनि थाले। सुशील आफ्ना बुबाको मिहिनेतको साक्षी बनिरहे, कहिले विदेशबाटै त कहिले नेपालमै आएर।

सन् २०१४ तिर पोखरामा पुष्पले रुपाकोट रिसोर्ट संचालनमा ल्याए। त्यसका लागि करिब एक दशक पुष्पले जग्गा व्यवस्थापनका लागि समय खर्चिएका थिए। सन् २०१५ को जनवरीमा सुशील पनि रुपाकोट आए। बुबाले खोलेको रुपाकोट रिसोर्टको संरचना देखेपछि उनलाई लाग्यो- ‘आँट गरे नेपालमै सम्भावना रहेछ।’ उनलाई बुबाको भिजनले छुट्टै ऊर्जा दियो।

विदेश पलायन भएका अधिकांश उतै भासिइरहेको अवस्थामा सुशील भने बुबाको लिगेसी धान्न तयार हुँदै थिए। पुष्पको चाहना पनि त्यही थियो। किनभने उनी राजनीतिमा होमिन चाहन्थे। अनि, आफ्नो व्यवसायको उत्तराधिकारी खोजिरहेका थिए उनले। सुशील पढाइको सिलसिलामा बेल्जियममा थिए।

बुबाले ‘बिजनेस’ सम्हाल्न साथ खोजिरहँदा सुशीलले पनि नेपाल फर्किने निर्णय गरे।

‘बुबा आमाले नेपाल हाम्रै भविष्यका लागि छाड्नुभयो। तब न हामी यहाँसम्म आइपुगेका हौं। अनि हामीले नेपालमै केही गरेनौँ भने त कहानीले सार्थकता पाउँदैन नि। उहाँहरुको योदानलाई कदर गर्दै हामी नेपाल फर्किएका हौं,’ उनले भने।

सन् २०१९ मा नेपालमै केही गर्छु भनेर फर्किँदा उनमा अन्योल त थियो नै, सँगै काम गरेर देखाउँछु भन्ने हुटहुटी पनि। रुपाकोट रिसोर्टलाई चुस्त गतिमा चलाउने र राम्रो रोजगारी सिर्जना गर्ने लक्ष्य लिए। रुपाकोटमा सम्भावना देखिरहँदा उनलाई रोक्ने प्रयास भयो। तर, हरेस खाएनन्।

‘म त बेल्जियम पासपोर्ट छोडेर आएको मान्छे। कतिले मलाई पागल भने। कतिले यसको टन्नै सम्पत्ति छ अनि छोड्योसम्म भने। तर, वास्तविकता त्यो होइन। हामी आफ्नो मुलुकमा केही गरौँ भन्ने उद्देश्य लिएर आएका हौँ।’

++

बुवाको विरासत धान्न नेपाल फर्किएका सुशील हाल रुपाकोट रिसोर्टको प्रबन्ध निर्देशकको भूमिकामा छन्। ६ वर्षदेखि नेपालकै रहेर रिसोर्ट चलाइरहेका उनले आफू आएपछि व्यवस्थापन पक्षमा रिसोर्टमा राम्रो गरेको दाबी गर्छन्।

‘रेष्टुरेन्टमा नयाँ परिकार, स्वागत तरिका, मार्केटिङ मेकानिज्म, कन्टेन्ट क्रियसन लगायत साना साना कुरालाई चुस्त बनाउँदै अगाडि बढें,’ उनले भने।

रिसोर्टमा कार्यरत जनशक्तिलाई दक्ष बनाउँदै काम गर्ने शैली नै पूर्णरुपमा रुपान्तरण गरेको उनी बताउँछन। उनले रुपाकोटलाई बाह्य पर्यटकमात्र नभइ आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनाउन आतिथ्यतामा लगानी गरेका छन्।

‘विदेशी पर्यटकसँगै नेपाली दाजुभाई दिदी बहिनीलाई सेवा दिन पाउँदा गौरव महसुस हुन्छ,’ उनले भने।

‘बाटोहरु परिवर्तन होला। भौतिक संरचना परिवर्तन होला तर त्यो हिमाल त सधैं रहिरहन्छ नि। यो नै नेपालको सौन्दर्य हो। हामी विदेशमै धेरै समय रहेपनि बुबाआमाले नेपाली संस्कार दिन कहिल्यै चुक्नुभएन,’ उनले भने। सन् २०१४ को अन्तिमतिर रिसोर्ट सञ्चालनमा आयो। सन् २०१५ जनवरीमा उनी पुनः रुपाकोट आए। रिसोर्टको संरचना देखेपछि बुबाको भिजनले उनलाई एउटा छुट्टै उर्जा दिएको छ।

प्याकेज विस्तारमा आक्रामक

यतिखेर रुपाकोटले हरेक महिना विभिन्न आन्तरिक वायुसेवा कम्पनीसँगको सहकार्यमा पाहुनालक्षित आकर्षक प्याकेज बनाएर बिक्री गर्दै आएको छ। यसमा सुशील आफैं खटिएका छन्। रुपाकोटले फेब्रुअरी महिनाभर १८ हजार रुपैयाँमै दुईजनालाई यति एयरलाइन्समार्फत दुईतर्फी हवाई यातायात सेवा, पिकअप ड्रपअप, एक रात खानपिन र बसाइको सेवा दिँदै आएको छ।

‘नेपाली पाहुनालाई स्वागत गर्न पाउनु नै मेरो पहिलो प्राथमिकता हो। यस्तो प्याकेजमार्फत हामीले सामाजिक आर्थिक अवस्था न्यून भएको वर्गलाई टार्गेट गर्न सकिरहेका छौं,’ उनले भने ,’रुपाकोट रिसोर्टको सेवा लिने सपनालाई विपनामा परिणत गर्न सकिरहेका छौँ।’

रुपाकोटलाई भाइब्रेन्ट बनाउन लागेका उनी पोखराकै पर्यटकीय हब लेकसाइडलाई आफ्नो ‘कम्पिटिटर’ ठान्दैनन्। दुवै स्थान एकअर्काका पूरक रहेको उनको भनाइ छ।

‘लेकसाइड र रुपाकोट दाजुभाइ हो। प्रतिस्पर्धी होइन,’ उनले प्याकेजबारे बुझाउँदै भने, ‘पोखरा पूरै घुमघाम गरेर पनि पाहुना रुपाकोट आएर बस्न सक्नुहुन्छ। भनेपछि दुवै क्षेत्रलाई हामीले कभर गर्ने अवधारणा बनाएका छौं।’

प्याकेजअन्तर्गत आएका ८५ प्रतिशत पर्यटक लेकसाइडमा समय बिताएर रुपाकोट रिसोर्टमा बस्ने गरेको उनले जानकारी दिए।

समग्र पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रिसोर्टले प्रादेशिक उडानको प्याकेज पनि तयार गर्ने योजना बनाएको छ।

सुशील विदेशमा रहेका एनआरएन (गैरआवासीय नेपाली) युवाहरुलाई स्वदेश फर्किएर सम्भावनाहरु ‘एक्सप्लोर’ गर्न सुझाउँछन्। ‘म जस्ता युवा धेरै हुनुहुन्छ। उहाँहरुलाई एकपटक नेपाल आएर यहाँको सम्भावनन अध्ययन गरिदिन अनुरोध गर्न चाहन्छु,’ उनले भने।  

भारतीय बजारमा नजर

९० जना जनशक्ति कार्यरत रिसोर्टलाई भारतीय बजारमा पुर्‍याउने योजना बुनेका छन् सुशीलले। अहिले आन्तरिक पर्यटक लक्षित विविध प्याकेज बनाएर बिक्री गर्दै आएको रिसोर्टले भविष्यमा भारतका विभिन्न प्रमुख सहरमा आफ्नो प्याकेज विस्तार गर्ने तयारी गरिरहेको छ।

‘भारत पनि हाम्रो लागि प्रमुख बजार हो। जहाँ फूल त्यहाँ माहुरी आउँछ, हामीले हाम्रो फूलको बजारीकरण गर्न आवश्यक छ,’ उनले भने, ‘हामीसँग अद्भूत प्राकृतिक, सांस्कृतिक सम्पदा छन्। प्रतिस्पर्धात्मक भएर भन्दा पनि दिगो सोच राखेर बजारीकरणमा लाग्न आवश्यक छ।’  

बुबा पुष्प राजनीतिमा लागिरहँदा रुपाकोट रिसोर्टको लिगेसीलाई कायम राख्ने जिम्मेवारी सुशीलमा छ। त्यसैले त निकट भविष्यमै छुट्टै अवधारणामा रिसोर्ट संचालन गर्ने उनको उद्देश्य छ। र, त्यहाँ नेपाली युवाहरुको सपना पूरा गराउने उनी बताउँछन्।

‘आफूले पनि दुई चार पैसा कमाउने हो। जसरी बुबाले हाम्रो लागि यतिको योगदान दिनुभयो मैले यही कुरा अरु युवालाई दिन सकेँ भने त्यही मेरो खुसी हुनेछ,’ उनले भने।