
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) नेपालले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको आइपीओ निष्कासनमा रोक लगाउन दिएको निर्देशन सच्याउन सार्वजनिक लेखा समितिसँग आग्रह गरेको छ।
इप्पानले शुक्रबार समितिका सभापति ऋषिकेश पोखरेललाई पत्र लेख्दै निर्णय सच्याउन आग्रह गरेको हो। समितिको निर्देशनका कारण जलविद्युत कम्पनीहरु पुँजी जुटाएर आयोजना अगाडि बढाउनबाट वञ्चित भएको भन्दै इप्पानले निर्णय सच्याउन आग्रह गरेको छ।
लेखा समितिले २०८० पुस १२ गते ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति नदिन नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिएको थियो। समितिको निर्देशनका कारण सेबोनले अनुमति दिएको छैन। नेटवर्थ ९० भन्दा कम भएका दुई दर्जनभन्दा बढी जलविद्युत कम्पनीको निवेदनले पेन्डिङमा राखेको छ।
समितिले कानुनमा भएको व्यवस्थाविपरीत निर्देशन दिएको भन्दै इप्पान गत साउनमा अर्थ समितिमा पुगेको थियो।
तर लेखा समितिका सभापति पोखरेलले गत मंगलबार इप्पानका अध्यक्ष गणेश कार्कीलाई एउटा समितिले गरेको निर्णय उल्ट्याउन अर्को समितिमा धाएर गल्ती गरेको भनेका थिए।
पोखरेलले निर्णय सच्याउने संकेत गरेपछि इप्पानले लेखा समितिलाई पत्र लेखेको हो।