
अमेरिकाको मेनिपोलिसबाट सोमबार क्यानडाको टोरोन्टोको लागि डेल्टा फ्लाइट ४८१९ उड्यो। जब विमान टोरोन्टो पर्सन विमानस्थलमा अवतरण गर्यो तब पल्टियो।
विमान पल्टिएसँगै आगो लागेको दृश्य सार्वजनिक भएका छन्। त्यसलगत्तै विमानस्थलमा खटिएको उद्धार टोली दुर्घटनास्थलमा तैनाथ भयो।
विमानमा ८० जना यात्रु सवार थिए। दुर्घटनामा १८ जना घाइते भए। अन्य सकुशल नै थिए। एक यात्रुले पल्टिएको विमान भित्रबाटै भिडियो खिचेर बाहिर निस्किएको क्लिप अहिले भाइरल छ।
‘हामी अझै जीवितै रहेछौं। यो अच्चम भयो,’ एक यात्रुले विमानबाट निस्किएपछि भने।
एरोनोटिकल विज्ञहरु पनि दुर्घटनाको प्रकृति हेरेर र विमानको अवस्था हेरेर अच्चम मानिरहेका छन्।
एम्ब्री रिडल एरोनोटिकल युनिभर्सिटीका सहप्राध्यापक म्याक कोरमिक भन्छन्,’ विमान त्यसरी उल्टो पल्टिएको र यात्रुहरु त्यसबाट बाहिर निस्किरहेको देख्नु निकै आश्चर्यलाग्दो कुरा हो।’

उनले यसरी विमान पल्टिंदा पनि मानवीय क्षति नहुनुका पछाडि विमानको डिजाइन र सिभिल एभिएसनमा गरिएको अनुसन्धान मुख्य रहेको बताए।
‘पछि मलाई यो विमानको डिजाइनले हो जस्तो लाग्यो। इन्जिनियरिङको भूमिका। वर्षौंको सिभिल एभिएसन अनुसन्धान.. यसले नै यस्तो हुने अवस्था सिर्जना भयो,’ उनले भने।
विङ्समा राखिन्छ इन्धन
पहिले विमानको मुख्य बडीको तल्लो भागमा अर्थात यात्रुको ठीक तल इन्धन राखिन्थ्यो। तर विमान दुर्घटनाहरूमा यसले इन् समस्या निम्त्याएपछि विज्ञहरूले इन्धनलाई विमानको विङ्स (पखेटा)मा राख्ने निर्णय गरे।
‘पहिले पहिले इन्धनलाई विमानको पेटको भागमा स्टोर गरिन्थ्यो,’ म्याककोर्मिकले भने।
डेल्टाको बम्बार्डियर सीआरजे-९०० क्र्यास-ल्यान्ड हुँदा उत्तानो परेर चिप्लिएको थियो। सो क्रममा इन्धनले भरिएको दायाँपट्टिको विङ भाँचियो। त्यसले पनि विमानमा धेरै हदसम्म आगो लाग्न दिएन। किनकी दायाँ विङ भाँचिएपछि पनि विमान लगातार चिप्लिरह्यो र इन्धन भरिएको विङ पछाडि नै छोडियो।
यो घटनामा विङ भाँचिएर पछाडि नै छोडिँदा प्यासेन्जर क्याबिनमा आगो लाग्न नपाएको एरोस्पेस इन्जिनियर जो ज्याकोबसेनले बताए।
‘वस्तुहरू भाँचिन सक्छ…। तर यदि यो डिजाइनकै मापदण्ड अनुरुप छ भने यो कसरी भाँचियो भनेर हेर्नुपर्छ। के यो डिजाइनकै अनुरुप भाँचिएको हो त?,’ ज्याकोबसेनले भने।
विमानको विङ मेन्टlनेन्स अथवा डिजाइनको त्रुटीका कारण पनि भाँचिएको हुन सक्ने भन्दै उनले यो सम्भावनाबारे अध्ययन गर्ने बताए।

विमान बजारिएर विङ भाँचिंदा सम्भावित उच्च प्रज्वलनशील इन्धन पछि नै रहनु पनि एउटा सकारात्मक पक्ष बनेको म्याककोर्मिक बताउँछन्।
‘हामी इन्धनलाई यात्रु कक्षबाट अलग गर्न सक्ने हुन चाहन्छौं र विमानको मुख्य भाग स्थिर अवस्थामा रोक्न सक्ने अवस्था सुनिश्चित गर्न चाहन्छौं,’ म्याककोर्मिकले भने।
विमान उत्तानो परेर भएपनि स्टेबल पोजिसनमा रोकियो। विमानमा उच्च टकराव सहन सक्ने गज्जबको सिट भएकाले पनि यात्रुहरू जोगिए।
१६ जी सिट सुरक्षाका लागि
अहिलेका अधिकांश आधुनिक कमर्सियल विमानमा १६ जी सिट हुनैपर्छ। यसको अर्थ उनीहरुले गुरुत्वाकर्षणभन्दा १६ गुणा बढी शक्ति थाम्न सक्ने म्याककोर्मिक बताउँछन्।
‘विमान तलमाथि भए पनि सिटहरु निस्किने वा लुज हुने खालको हुँदैन,’ उनले भने, ‘त्यसैले यो कम्फर्टको लागि बनाइएको होइन। यो लामो समयसम्म टिकोस् भनेर बनाइएको हुन्छ।’
ती सिटमा अनिवार्य हुन्छन् लाइफ सेभिङ बेल्ट्सहरु।
‘ती बेल्टबिना यात्रुहरु अवश्य फालिनेछन् र घाइते हुन सक्छन्। यो दुर्घटनामा त्यसले महत्वपूर्ण भूमिका खेल्यो’ फ्लाइट सेफ्टी फाउन्डेसनका हसन शहिदीले भने।
सीएनएनका एभिएसन एनालिस्ट पिटर गोलेजका अनुसार यदि यही प्रकारको दुर्घटना केही दशकअघि भएको भए तस्विर यो भन्दा बढी नै खराब हुन सक्थ्यो।
‘अहिले सबै कमर्सियल विमानका सिटहरु फ्यूजलेवको भागको ट्रयाकहरुमा लक्ड हुन्छन्। जसले १६ जी बढी प्रभाव सामना गर्न सक्छ,’ नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डका पूर्वनिर्देशक गोल्जेले भने।
उनी यसको असरबारे थप भन्छन्, ‘यसको अर्थ दुर्घटनामा यदि तपाईंले आफ्नो सिट बेल्ट सही तरिकाले बाँध्नुभएको छ भने तपाईं आइपर्ने प्रभावबाट बच्न सक्नुहुन्छ र भाग्ने मौका पनि पाउनुहुनेछ । यदि तपाईंहरुले दिइएका निर्देशनहरू पालना गर्नुभयो भने सुरक्षित हुने सम्भावना रहन्छ।’
यो त रह्यो प्रविधिको कुरा। यस प्रकारको दुर्घटनामा सबैभन्दा महत्वपूर्ण भूमिका चालक दलका सदस्यहरुको पनि रहन्छ।
म्याककोर्मिक भन्छन्, ‘विमानबाट यात्रुहरुलाई सुरक्षित कसरी निकाल्ने भन्नेमा चालक दलका सदस्यकको भूमिका पनि महत्वपूर्ण हुन्छ।’

क्यानडामा भएको दुर्घटनामा विमान पल्टिएको अवस्थामा के गर्ने भन्नेबारेमा पाइलटहरु प्रशिक्षित थिएनन्। तर, विभिन्न परिस्थितिमा विमानबाट यात्रुहरुलाई ९० सेकेन्डमै कसरी निकाल्ने भन्नेबारे भने उनीहरु जानकार थिए।
उल्टो परेको विमानमा रहेका करिब सबै यात्रुहरु सिट बेल्टमा बाँधिएको अवस्थामा उनीहरुलाई ९० सेकेन्ड भित्र निकाल्न विमानका क्रु सफल भए।
यसमा विमान परिचारिकाहरुको भूमिका महत्वपूर्ण देखिन्छ।
यसले विमानमा काम गर्ने कर्मचारीप्रति यात्रुहरुको भरोसा बढ्ने जानकारहरु बताउँछन्।
‘फोहोर उठाउन र पेय पदार्थ दिन बाहेक पनि उनीहरुको भूमिका हुन्छ। उनीहरु यात्रुहरुलाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा जानकार हुन्छन्। उनीहरुले राम्रो काम गरेका छन्,’ म्याकले भने।